चरिकोटमा सोनाम ल्होछारको रौनक: माघ ३ गते भव्य सांस्कृतिक उत्सव हुने, तयारी तीव्र
चर्चित कलाकारहरूको साथमा तामाङ संस्कृति झल्किने मेला, चरिघ्याङ गुम्बाको विशेष आयोजना
हेर्दाहेर्दै डेस्क
२ माघ २०८२, शुक्रवार
247
SharesNews Summary
- दोलखाको चरिकोटमा माघ ३ गते शनिबार 'बृहत् सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम–२०८२' आयोजना हुँदैछ।
- मन्जुश्री संवत २८६२ 'ता ल्हो' (बाघ वर्ष) को खुसीयालीमा आयोजना हुने यो कार्यक्रमले तामाङ समुदायको कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्नेछ।
- कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति र मौलिक भेषभूषाको प्रदर्शन गरिनेछ, जसले पर्यटन र आपसी सम्बन्धमा टेवा पुर्याउने विश्वास छ।
दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा आगामी माघ ३ गते शनिबारका दिन 'बृहत् सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम–२०८२' धुमधामका साथ मनाइने भएको छ। मन्जुश्री संवत २८६२ 'ता ल्हो' (बाघ वर्ष) को खुसीयालीमा आयोजना हुन लागेको यस कार्यक्रमको अहिले अन्तिम तयारी भइरहेको छ। चरिघ्याङ गुम्बा व्यवस्थापन समितिले तामाङ समुदायको कला, संस्कृति र पहिचानलाई सबैमाझ चिनाउन यो उत्सव गर्न लागेको हो।
कार्यक्रम संयोजक दावा लामाका अनुसार यो सांस्कृतिक मेला चरिकोटको सातदोबाटोमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ। कार्यक्रमलाई रमाइलो बनाउन नेपालका चर्चित गायक रोज मोक्तान, अमिर दोङ, मोडल याङ्गी दोङ, सुवास मोक्तान र प्रतिक मोक्तान लगायतका कलाकारहरू चरिकोट आउँदैछन्। त्यस्तै सानुबाबु घिसिङ, सुशिल तितुङ, मिन योञ्जन र कोपिला वाइवा जस्ता लोकप्रिय कलाकारहरूले पनि आफ्नो गीत र नृत्य मार्फत दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।
ल्होछार पर्व तामाङ जातिको मात्र नभएर सिङ्गो राष्ट्रकै गौरव भएकाले यसलाई सभ्य रूपमा मनाउने आयोजकको लक्ष्य छ। मेलामा तामाङ जातिको मौलिक भेषभूषा र रीतिरिवाजको प्रदर्शन गरिनेछ। यस कार्यक्रमले चरिकोटको पर्यटन क्षेत्रलाई टेवा पुर्याउनुका साथै जिल्लाबासीहरू बीचको आपसी सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ। आयोजकले सम्पूर्ण जिल्लाबासी तथा संस्कृति प्रेमीहरूलाई उक्त दिन कार्यक्रममा उपस्थित भएर रमाइलो गर्न निम्तो दिएको छ।
247 Shares
हेर्दाहेर्दै डेस्क