दोलखा।
दोलखाको जिरी नगरपालिकाका एक वृद्धको हत्या अभियोगमा पक्राउ परेका ३ जनामाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। सरकारी वकिल कार्यालय दोलखा मार्फत सम्मानित जिल्ला अदालतबाट उनिहरुलाई ७ दिनको म्याद लिई अनुसन्धान अघि सारेको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक दाताराम अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ परेका जिरी नगरपालिका–२ का ६६ वर्षीय धनबहादुर तामाङ ,उनकी श्रीमती गंगामाया तामाङ र वडा नम्वर ४ का ५२ वर्षिय शान्ता जिरेललाई बुधबार (आज) दोलखा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाईएको हो । गत पुष २८ गते राति जिरी नगरपालिका-२ पटासे स्थित आफ्नै घरको कोठामा ६१ वर्षिय होम्बा तामाङ शंकास्पद अवस्थामा मृत फेला परेका थिए।
उक्त अवस्थामा तामाङ मृत्त फेला परेको सुचना आएपछि २९ गते जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थलमा पुगेको थियो। अनुसन्धानका क्रममा वृद्धलाई रक्सिले मातेर टाउकोमा चेप्टो काठले हानेर हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो।
त्यसलगत्तै हत्यामा उनीहरुको संलग्नता देखिएकाले तीनै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखा लगिएको थियो।ति वृद्धा घरमा एक्लै बस्दै आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।