अबिरल बस्नेत
दोलखा । दोलखाको शैलुङ गाउँपालिका–७ कालापानीस्थित साँगुते माध्यमिक विद्यालयले आफ्नो ५०औं स्थापना दिवस (स्वर्ण महोत्सव) भव्य रूपमा सम्पन्न गरेको छ।
स्वर्ण महोत्सवको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गरेका थिए। कार्यक्रममा मन्तव्य राख्दै उनले निजी विद्यालयहरू फस्टाउँदै गर्दा सरकारी विद्यालयहरूको स्तर खस्कँदै जानु चिन्ताजनक विषय भएको बताए। उनले शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षले ध्यान दिनुपर्ने उल्लेख गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शैलुङ–७ का वडा अध्यक्ष सुजन खड्काको अध्यक्षतामा सम्पन्न समारोहमा गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठ, उपाध्यक्ष पार्वती कार्की,नेपाली काङ्ग्रेसका नेता तारा खड्का , स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षाप्रेमी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयलाई जग्गा प्रदान गर्ने जग्गादाता, पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अक्षयकोष दाता, उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी, चन्दादाता तथा यातायात साझेदारहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रम अन्तर्गत विद्यालयले आयोजना गरेको अन्तरपालिका स्तरीय मावि भलिबल प्रतियोगिता, जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता र पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्तममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा कला प्रदर्शन गरेका थिए ।
वि.सं. ३०३१ सालमा स्थापना भएको साँगुते माध्यमिक विद्यालयमा हाल १८५ विद्यार्थी अध्ययनरत छन् ।