अबिरल बस्नेत `सुरज´
दोलखा । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’भन्ने मुल नाराका साथ दोलखास्थित आयुर्वेद निकायहरूको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा बैठक भव्य रूपमा सम्पन्न भएको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको आयोजनामा विगु गाउँपालिकाको सिङ्गटिमा रहेको सिङ्गटी इन होटलमा शनिबार कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्लाका विभिन्न आयुर्वेद निकायका शाखा प्रमुख र कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तुतिहरू राखिएको थियो।
उक्त कार्यक्रममा प्रस्तुतिमा उत्कृष्टता हासिल गर्ने डा. सुकृती ढुंगानालाई पुरस्कार प्रदान गरिएको छ। यस्तै, बरिष्ठ कविराज निरीक्षक बिमल श्रेष्ठलाई उत्कृष्ट वर्ष कर्मचारी घोषणा गर्दै सम्मानित गरिएको थियो।
कार्यक्रमलाई अझ रोचक बनाउन विभिन्न खेलकुद गतिविधिहरूको आयोजना गरिएको थियो। ती खेलहरूमा उत्कृष्टता प्रदर्शन गर्दै अभ्यङ्गकर्ता उत्तरा नेपालीले पुरस्कार प्राप्त गरिन्।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. मनोज कुमार चौधरीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी औलेख आले थिए। कार्यक्रममा जिल्लाका सबै आयुर्वेद सेवाकेन्द्रका कर्मचारी, भेड्पु आयुर्वेद औषधालयका कर्मचारी तथा अन्य नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमले जिल्लामा आयुर्वेद सेवा प्रवाहलाई प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास लिइएको छ।