राजकुमार भुजेल,दोलखा।
दोलखामा दशैँ सेकेर राजधानी फर्कने सर्वसाधारणलाई सवारीसाधनले चर्को सुल्क लिएर ठगि धन्दा गरेको पाइएको छ । जिल्लाबाट दशैँ मानेर काठमाडौं फर्कने यात्रुहरुलाई चर्को सुल्क लिएर, अभद्र व्यवहार गरेर, अमर्यादित गतिविधि गरेको पाइएको हो।
बुधबार जिल्लाको शैलुङ गाउँपालिका- ८ ले एक सुचना जारी गर्दै बिगत लामो समय देखि मुडे-मेलुङ सडक खण्ड र समग्र शैलुङ गाउँपालिका भित्रका विविध रुटमा संचालित (पूर्व अरनिको यातायात प्रा.लि.) बस सेवाले अमर्यादित, अभद्र, व्यवहार गर्ने, निर्धारित शुल्क भन्दा अस्वाभाविक तरिकाले दोब्बर/तेब्बर भाडा असुली गरेको जानाकारी दिएकाे छ।
काउन्टरबाट यातायात प्रा.लि.ले तोकीएको ढाँचामा टिकट नदिई मनलाग्दी तरिकाले सादा कागजमा ३/४ जनालाई एउटै नक्कली टिकट दिने गरेको जनगुनासो बढेको बडा अध्यक्ष धनबहादुर तामाङ हस्ताक्षरित सुचनामा उल्लेख छ।
त्यस्तै समितिले फ्री क्यू सिस्टम मार्फत गाडी पठाउने आश्वान दिने, कार्यान्वयन नगर्ने र पटक पटक ध्यानकर्षण गर्दा पनि वेवास्ता गर्ने गरेको हुदाँ यस्तो गैर जिम्मेवारी प्रति पुर्व अरनिको यातायात प्रा.लि. लाई थप जवाफदेहिता बहन गर्न र गराउन ध्यानकर्षण गर्दै अव उप्रान्त यस्ता घटनाहरु पुनः दोहोरीएको खण्डमा प्रचलित कानुन बमोजिम काम-कार्वाही अगाडी बढाइने जनाएको छ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले भने हालसम्म यात्रुहरुबाट जिल्लामा कुनैपनि लिखित तथा मौखिक गुनासो नआएको जनाएको छ।