अबिरल बस्नेत
दोलखा – विगु गाउँपालिकाको आयोजनामा तथा शारदा मावि बुलुङको व्यवस्थापनमा सम्पन्न अन्तरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शान्ति आदर्श मावि लादुकले जितेको छ।
बुधबारदेखि विगु–४ लादुकको सिङ्गटी बजारस्थित खोलिखिम खेलमैदानमा भएको प्रतियोगितामा शान्ति आदर्श मावि लादुकले २० स्वर्ण, ८ रजत र ६ कांस्य गरी कुल ३४ पदक हासिल गर्दै च्याम्पियन बन्न सफल भयो।
गौरीशंकर मावि जगत, लामाबगर ६ स्वर्ण, ९ रजत र ६ कांस्य सहित उपविजेता बन्यो भने हिमालय मावि खोपाचागुले २ स्वर्ण, ४ रजत र १ कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गर्यो।
प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
विजयी विद्यालय तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आगामी जिल्ला स्तरीय खेलका लागि छनोट गरी आवश्यक प्रशिक्षणको व्यवस्था गरिने विगु गाउँपालिका अध्यक्ष सन्जिब ओलिले बताए।
प्रतियोगितामा विगु गाउँपालिकाभित्रका ११ विद्यालय सहभागी थिए।