आयुर्वेद चिकित्सालय, दोलखाद्वारा स्तनपान प्रवर्धन कार्यक्रम सम्पन्न

अबिरल बस्नेत `सुरज´

दोलखा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाले मेलुङ गाउँपालिका-४ भेडपु र मेलुङ गाउँपालिका-१ पवटीमा स्तनपान प्रवर्धनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङको उद्घाटन र चिकित्सालय प्रमुख डा. मनोज कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मेलुङ गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, वडाध्यक्षहरू, स्वास्थ्य शाखाका प्रमुखहरू र आयुर्वेद औषधालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूलाई स्तनपानको महत्त्व र चुनौतीबारे जानकारी दिइएको थियो। डा. मनोज कुमार चौधरी र डा. सुकृती ढुङ्गानाले आयुर्वेद सेवाहरू र जीवनशैलीमा यसको प्रभावबारे सहभागीहरूलाई अभिमुखीकरण गरेका थिए।

१३० जना सहभागी रहेको यस कार्यक्रममा स्वागत मन्तव्य डा. सुकृती ढुङ्गानाले दिएकी थिइन् भने कार्यक्रम सञ्चालन वरिष्ठ कविराज निरीक्षक विमल कुमार श्रेष्ठले गरेका थिए।

कार्यक्रमले समुदायमा स्तनपान प्रवर्धन र आयुर्वेद सेवाको प्रभावकारिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता