दिलबहादुर केसी
( साउन १९ ) चरिकोट, दोलखा : कालिञ्चोक गाउँपालिका–६ कुरी खर्कमा एक वर्षदेखि ट्युमरको पीडामा रहेको चौरीको खर्कमै पुगेर गरिएको सफल शल्यक्रियापछि किसानहरुमा उत्साहको लहर फैलिएको छ। डेढ वर्षदेखि चौरीपालनमा सक्रिय रहेका व्यवसायी लालवीर थामीको चौरीमा पेटमा डल्लो देखिएपछि स्थानीय तह, पशु सेवा कार्यालय र प्राविधिकको टोलीको सक्रियतामा उपचार सम्भव भएको हो।
थामीको गोठमा रहेको ३० मध्ये एक चौरीको पेटमा एक वर्षदेखि ठूलो डल्लो झुण्डिएको थियो। सुरुमा सानो फोका देखिएको उक्त डल्लो विस्तारै बढ्दै ठूलो भकुण्डो जत्रो बनेको थियो। चौरी जंगलमा घुम्दा काँडा र छेस्काले चोट लाग्दा रगत बग्ने समस्यासमेत देखिन थालेपछि थामी निराश थिए। उपचार नहुने ठानिएका थामी अहिले चौरीको सफल शल्यक्रियापछि निकै उत्साहित छन्।
चार घण्टाको शल्यक्रिया
चौरीको पेटमा रहेको ट्युमर हटाउन कालिञ्चोक गाउँपालिका र भीमेश्वर नगरपालिकाबीच समन्वय गरिएको थियो। भीमेश्वर नगरपालिका पशु शाखा प्रमुख डा. निशान दाहालको नेतृत्वमा खर्कमै पुगेको टोलीले चार घण्टा लामो प्रयासपछि ट्युमर सफलतापूर्वक शल्यक्रिया गरी हटायो।
डा. दाहालका अनुसार चौरीको पेटमा रहेको ट्युमरमा पीप र रगत जमेर नसासम्म जोडिएको जटिल अवस्था थियो। “मैले पहिलो पटक यति ठूलो ट्युमरको शल्यक्रिया गरेको हुँ,” उनले भने, “सामान्य फोका हटाउने त सजिलो हुन्छ, तर यस्तो जटिल अवस्था खर्कमै गएर सम्भव बनाउनु चुनौतीपूर्ण थियो।”
प्राविधिक टोलीको समर्पण
खर्कको वातावरण संवेदनशील हुन्छ। चौरीहरु सामूहिक रुपमा बस्ने र एक आपसमा कराउँदा आक्रामक हुने स्वभावका कारण शल्यक्रियाको समयमा विशेष सावधानी अपनाइएको थियो। रगतको गन्ध नफैलियोस् भनेर खोला किनारमा शल्यक्रिया गरिएको थियो।
उपचारमा संलग्न पशु प्राविधिक टोलीमा कालिञ्चोक गाउँपालिका पशु सेवा शाखा प्रमुख संगीता बस्नेत, चरिकोट पशु सेवा कार्यालयका प्रतिनिधि र स्थानीय सहयोगीहरु थिए। गाउँपालिकाले सबै व्यवस्थापन गरेको र प्राविधिक सहयोग चरिकोट तथा भीमेश्वर नगरपालिकाबाट लिइएको बस्नेतले जानकारी दिइन्।
स्थानीय तहको सक्रियता
एक महिना अघि गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, पत्रकार महासंघका उपाध्यक्ष नवीनकुमार खतिवडा लगायतको टोलीले निरीक्षणका क्रममा चौरीको पेटमा डल्लो देखेपछि उपचार पहल गरिएको थियो।
गाउँपालिकाले पछिल्ला दुई वर्षदेखि चौरी तथा भेडा पालनलाई प्रवर्धन गर्न चौरीको बीमा, घाँस–पानी र गोठ व्यवस्थापनमा लगानी गर्दै आएको छ। यस्तै, उत्पादन भएको दूध संकलन गरी चिज उत्पादनसमेत गरिएको गाउँपालिकाका उपाध्यक्ष बुढाथोकीले जानकारी दिए।
उनका अनुसार कालिञ्चोक गाउँपालिकाभित्र २१६ वटा चौरी रहेका छन्, र चौरी तथा भेडा पालनले लेकाली पर्यावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान दिएको छ।
स्थानीय उत्पादनमा सम्भावना
कालिञ्चोक क्षेत्रमा चौरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी र चिज यहाँ आउने पर्यटकका लागि लोकप्रिय कोसेली बन्न थालेका छन्। चौरीपालनमा देखिएको यो सफलताले किसानलाई आत्मनिर्भर बनाउन र गाउँमै रोजगारी सिर्जना गर्न मद्दत पुर्याएको छ।