दोलखा।
पर्यटकीय नगरी दोलखाको जिरीमा ११ औं जिल्ला स्तरीय अन्तर पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।जिल्ला खेलकुद विकास समितिको आयोेजना, जिरी नगरपालिकाको सह आयोजना र जिरी माविको व्यवस्थापनमा ११ औं जिल्ला स्तरीय अन्तर पालिका राष्ट्रपति रनिङ शिल्ड २०८१ आजदेखि सुरु भएको हो ।
प्रतियोगिता जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष आशिष घिसिङको अध्यक्षता एबम बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्लेको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो । जिरी माविको प्राङ्गणमा भइरहेको प्रतियोगितामा २ नगरपालिका सहित ७ गाउँपालिकाका खेलाडीहरु सहभागी भएका छन् । प्रतियोगितामा भलिबल, एथलेटिक्स, दौड, ज्यावलिङ थ्रो, सटपुुट, हाइजम्प, लङजम्प र त्रिपलजम्प लगायतका खेलहरु हुनेछन् । खेल फागुन १७ गतेसम्म सञ्चालन हुनेछ भने प्रतियोगिताका विजेताले ३५ हजार, उपविजेताले २५ हजार, तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
उद्घाटन समारोहमा बागमती प्रदेश सभा सदस्य उर्मिला सुनुवार, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, जिल्ला समन्वय समितिका उपप्रमुख दोर्जी शेर्पा जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल, भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर मानन्धर, जिल्ला भरका गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, स्थानीय राजनितिक दलका नेताहरु र जिरी नगरपालिकाका वडाध्यक्ष, प्रशिक्षक, खेलाडीहरु लगाएत पत्रकारको सहभागिता रहेको थियो ।