दोलखा, साउन ३० – दोलखामा गाई, भैंसी र चौंरीमा देखा परेको संक्रामक लम्पी स्किन रोग नियन्त्रण गर्न पशु सेवा कार्यालय दोलखाले भदौ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ।
पशु सेवा कार्यालयका प्रमुख डा. टेकराज पौडेलका अनुसार, जिल्लाका सबै ९ वटै पालिकामा अभियान सञ्चालन गरिनेछ। रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन खोप अभियानलाई प्राथमिकता दिइएको उनले बताए।
खोप अभियानको तयारीस्वरूप, साउन २९ गते सदरमुकाम चरिकोटमा आयोजित अभिमुखीकरण कार्यक्रममा सबै पालिकाका पशु शाखा प्रमुख र खोपकर्ताहरू (भ्याक्सिनेटर) लाई तालिम दिइएको थियो।
पशु स्वास्थ्य प्राविधिक प्रकाश थापाका अनुसार, जिल्लाका प्रत्येक पालिकामा १,४७५ डोजका दरले कूल १३,२७५ डोज खोप वितरण गरिनेछ। अभियानका लागि ३० जना खोपकर्ता खटाइनेछ।
यो अभियान बाग्मती प्रदेशभर सञ्चालन हुने लम्पी स्किन रोगविरुद्धको समन्वित कार्यक्रमअन्तर्गत दोलखामा पनि संचालन गरिँदैछ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!