दोलखा, भदौं ४ –नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दोलखा जिल्ला समन्वय समितिले जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार र जनजीवन सुधारका लागि २१ बुँदे मागपत्र सार्वजनिक गरेको छ। बिहिवार चरिकोटस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले यी मागहरू सरकारसमक्ष राखेको हो।
पार्टीले विगु गाउँपालिकास्थित लामाबगर नाकालाई राष्ट्रिय महत्वको व्यापारिक नाका घोषणा गरी तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ। चीनको फलाकसँग जोडिएको यो नाकासम्म दुई किलोमिटर सडक मात्र निर्माण गर्न बाँकी रहेको र नाका सञ्चालनमा आएपछि नेपाल–चीन व्यापार सहज भई स्थानीय आर्थिक गतिविधि बढ्ने विश्वास पार्टीले व्यक्त गरेको छ।
तामाकोशी, खिम्ती–१ लगायतका जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (PPA) शीघ्र टुंग्याउन र तामाकोशी–३ तथा ठोसे–खिम्ती आयोजना छिटो अघि बढाउन पनि माग गरिएको छ।
आलम्पुमा रहेको स्लेट ढुङ्गा खानीलाई परम्परागत ढाँचाबाट आधुनिक उद्योगमा रूपान्तरण गर्नुपर्ने, थामी समुदायको अधिकार र जीवनशैलीलाई संरक्षण गर्नुपर्ने तथा गौरीशंकर संरक्षण क्षेत्रले कुनै अवरोध नगर्नुपर्ने माग गरिएको छ।
दोलखामा विमानस्थल निर्माण गरी काठमाडौंसँग हवाई सेवा जोड्नुपर्ने, साथै द्रुतमार्ग निर्माण गरी यातायात सहज बनाउनुपर्ने माग पनि पार्टीले अघि सारेको छ।
पर्यटन प्रवर्द्धनका लागि जिरी ताल, कालिञ्चोक, शैलुङ, खरिढुंगा म्याग्नेसाइट, च्छो–रोल्पा हिमताल, हनुमन्ते लगायत पर्यटकीय तथा धार्मिक स्थलहरूमा पूर्वाधार विकास गर्नुपर्ने मागपत्रमा उल्लेख छ। विशेषगरी, जिरी तालको निर्माणका लागि सरकारले बजेट कटौती गरेकोमा आपत्ति जनाउँदै काम अघि बढाउन सुझाव दिइएको छ।
मेलुङ गाउँपालिकास्थित भेडपुका करिब दुई हजार पूर्जाविहीन परिवारलाई गुठी संस्थानमार्फत जग्गा नामसारी गरी पूर्जा वितरण गर्न, शिक्षक अभाव हटाउन, ग्रामीण सडक मर्मत गर्न तथा स्थानीय तहमै रोजगारी सिर्जना गर्न पनि माग गरिएको छ।
पार्टी संयोजक ज्योति श्रेष्ठले भने, “दोलखाको विकास, पूर्वाधार विस्तार र जनजीवन सुधारका लागि यी मागहरू अत्यन्तै आवश्यक छन्। अब सरकारले गम्भीर भएर समयमै कदम चाल्नुपर्छ।”
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!