हेटौंडा, ५ साउन।
बागमती प्रदेशको नेतृत्व नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले सम्हालेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई प्रदेशको छैठौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका हुन्।
बानियाँले नेपाली कांग्रेस र नेकपा एमाले सहित ६४ जना सांसदको समर्थन प्राप्त गर्दै मुख्यमन्त्रीमा नियुक्ति पाएका हुन्। ११० सदस्यीय प्रदेशसभामा बहुमतको आधारमा उनले सरकार गठन गरेका हुन्।
मकवानपुर निवासी बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति समेत हुन्। लामो समयदेखि पार्टी संगठन र प्रदेश राजनीतिमा सक्रिय बानियाँ बागमती प्रदेशको नेतृत्वमा पुग्ने कांग्रेसका प्रभावशाली नेता मानिन्छन्।
कम्युनिस्ट दलहरूको सशक्त आधार क्षेत्र मानिने मकवानपुरबाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनले २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी हुँदै मकवानपुरबाट जित हासिल गर्ने पहिलो कांग्रेस नेताको इतिहास पनि रचेका थिए।
बानियाँभन्दा अगाडि बागमती प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा गरी पाँचजना नेताहरूले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
मुख्यमन्त्री बानियाँले अब प्रदेशमा स्थिरता, समावेशी विकास, र समन्वयात्मक शासन प्रणालीको अभ्यासलाई प्राथमिकता दिने बताएका छन्।