हेटौंडा, २०८२ साउन १८ — बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिएका छन्। लामालाई सत्तारूढ नेपाली कांग्रेसले प्रदेश संसदीय दलको नेताबाट हटाएपछि उनले राजीनामा दिएका हुन्।
लामाले राजीनामा पत्र प्रदेश प्रमुख यदु त्रियुगीसमक्ष बुझाएका छन्। उनले एक महिनासमेत नपुगी मुख्यमन्त्री पदबाट बाहिरिनुपरेकोमा गहिरो असन्तोष जनाएका छन्।
दलभित्रको अन्तरद्वन्द्वको परिणाम
मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट २२ जना सांसदको बहुमतले हटाइएको थियो। त्यसपछि उनको पद नै अन्यौलमा परेको थियो। लामाले भने आफूमाथि भएको घटनालाई पार्टीभित्रको षड्यन्त्रपूर्ण व्यवहार भएको टिप्पणी गर्दै, लोकतान्त्रिक मूल्य र सिद्धान्तको रक्षा गर्न जनतासमक्ष प्रतिवद्ध रहेको बताएका छन्।
इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री?
लामाको राजीनामापछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेसले इन्द्रबहादुर बानियाँलाई नयाँ संसदीय दलको नेता चयन गरेसँगै उनी नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित देखिन्छ।