दोलखा, साउन २३ –
भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिएको बजेट पुस्तिका सार्वजनिक गरेको छ। बजेट सार्वजनिकसँगै आगामी वर्ष सञ्चालन गरिने विकास योजना र कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छ।
बिहीबार आयोजित विशेष समारोहमा नगर प्रमुख ईश्वरनारायण मानन्धर र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराम गेलालले संयुक्त रूपमा बजेट पुस्तिका सार्वजनिक गरे।
नगर प्रमुख मानन्धरले बजेट पुस्तिका पारदर्शिता र जनउत्तरदायित्वलाई ध्यानमा राखी सार्वजनिक गरिएको जनाउँदै भने, “पुस्तिकामा नगरपालिकाको प्राथमिकता, योजनाहरू, कार्यक्रम र तिनमा विनियोजित रकमको स्पष्ट विवरण समावेश गरिएको छ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, सुरक्षा निकायका प्रमुख, विभिन्न निकायका कर्मचारी, सरोकारवाला र स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।