काठमाडौँ, साउन १६ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक विवादबीच पार्टी संयोजक रेशम चौधरीले अध्यक्षमा ठूलो फेरबदल गरेका छन्। उनले वर्तमान अध्यक्ष तथा पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर आफ्नै बुबा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष घोषणा गरेका छन्।
पार्टी संरक्षक रेशम चौधरीको सक्रियतामा बोलाइएको राष्ट्रिय भेलाबाट बिहीबार लालवीर चौधरीलाई नयाँ अध्यक्षमा चयन गरिएको हो। यो निर्णय पार्टीभित्र चुलिएको विवाद समाधान गर्न खोजिएको प्रयासको रुपमा आएको बताइएको छ।
नयाँ अध्यक्ष चयनसँगै सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै लालवीर चौधरीले भने, “हामी लगातार आठ दिनदेखि मन्थनमा थियौँ र आज अन्ततः सकारात्मक निकास निकाल्न सफल भएका छौँ।” उनले पार्टीमा देखिएको समस्यालाई विधि र पद्धति अनुसार समाधान गर्ने प्रतिबद्धता जनाए।
लालवीरले रञ्जिता श्रेष्ठलाई हटाइएको नभई स्वेच्छिक रूपमा अलग भएको अवस्था भएको जिकिर गरे। “उहाँलाई दण्डित गरिएको होइन, केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको हो,” उनले स्पष्ट पारे, “हामी अझै पनि उहाँप्रति सम्मानजनक व्यवहार गर्न तयार छौँ र उहाँलाई पार्टीमा सहभागी हुन आग्रह पनि गरेका छौँ, तर उहाँ आफैँ आउन चाहनु भएन।”
पार्टीभित्र सशक्त नेतृत्वको खोजी र आन्तरिक एकता कायम राख्न यो कदम चालिएको बताउँदै लालवीर चौधरीले सबै तहका प्रतिनिधिहरूलाई धन्यवाद दिए।