दोलखा : विगु गाउँपालिका–१ मा रहेको लामाबगर–लाप्ची झोलुंगे पुल शुक्रबार दिउँसो भत्किएको छ। जुम खोलामा खसेको सुख्खा पहिरोका कारण पुल भत्किनुका साथै लामाबगर–लाप्ची सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष सञ्जीव ओलिले जानकारी दिए ।
पुल भत्किँदा स्थानीय यातायात पूर्ण रूपमा ठप्प भएको छ भने लाप्ची क्षेत्रमा आउजाउ गर्ने बासिन्दा र यात्रुहरू मारमा परेका छन्। घटनास्थलमा हालसम्म कुनै मानवीय क्षति नभएको बताइए पनि भौतिक क्षति ठूलो भएको अनुमान गरिएको छ।
अध्यक्ष ओलिले स्थानीय स्तरमै तत्काल वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको बताए ।
लामाबगर–लाप्ची पुल दोलखाको दुर्गम क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको र यस पुलमार्फत लाप्ची भेगमा खाद्यान्न, औषधि र अन्य सामग्री ओसारपसार हुने गर्दछ।