काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभा सदस्य घनश्याम रिजालले भारत र चीनले नेपालको सहमति र उपस्थितिविनै लिपुलेक नाका प्रयोग गर्ने निर्णय आपत्तिजनक भएको बताएका छन्। उनले यो विषयलाई तत्काल कूटनीतिक तहमा उठाउनुपर्ने आवश्यकता औंल्याउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रिजालले, लिपुलेक नेपालको भूमि भएको स्पष्ट गर्दै नेपालको स्वामित्व कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताएका हुन्। “नेपालको अनुमति विना दुई राष्ट्रबीच हाम्रो भूमि प्रयोग गर्ने सहमति कदापि स्वीकार्य हुँदैन,” उनले भने।
उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणको सन्दर्भमा यस विषयलाई “बलियो रूपमा उठाएर सधैंका लागि किनारा लगाउनुपर्ने”मा समेत जोड दिए।
सांसद रिजालले विवाद समाधानका लागि सरकारलाई कूटनीतिक नोट पठाउने र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको पक्ष स्पष्ट पार्ने पहल गर्न आग्रह गरेका छन्।
लिपुलेक नाका विगत केही वर्षदेखि नेपाल–भारत–चीन त्रिदेशीय सीमाना विवादको केन्द्रमा रहँदै आएको छ। भारत र चीनबीचको व्यापारिक सहमतिले यसलाई पुनः चर्चाको केन्द्रमा ल्याएको हो।