विगु गाउँपालिका अध्यक्ष सहितको टोली ‘छोपा बामरे’ हिमाल आरोहणका लागि प्रस्थान

दोलखा । ‘भर्जिन’ हिमालका रुपमा रहेको दोलखाको ‘छोपा बामरे’ हिमालको प्रचार प्रसारका लागि विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओली सहितको टोली आरोहणका लागि प्रस्थान गरेको छ । दोलखालाई पर्यटकीय जिल्लाको रुपमा परिचित गराउने उद्देश्यले आरोहण अनुमतीपछि शनिबार पालिका अध्यक्ष ओलीसहितको ७ सदस्यीय टोली हिमाल आरोहणका लागि प्रस्थान गरेको हो ।

विगु गाउँपालिका-१ स्थित लामाबगरको उत्तरपश्चिममा अवस्थित ६ हजार १ सय ९ मिटर उचाईको यस हिमाल तिब्बत, चीन र नेपालको सिमानामा पर्छ । यस हिमाललाई सरकारले आरोहणको लागि हालैमात्र खुला गरेको थियो ।

हिमाल आरोहणका लागि सैद्धान्तिक, प्रयोगात्मक अध्ययन तथा अग्ला हिमाल आरोहणका लागि छोटो अवधिको तालिम तथा अभ्यास जरुरी भएकाले आरोहण शुरु गरिएको गाउँपालिका अध्यक्ष सञ्जिव ओलीले जानकारी दिए । दोलखामा स्थापित पर्यटन उद्योगलाई थप चलायमान बनाउनका लागि पनि तयारीस्वरुप यो आरोहण कार्यक्रम तय भएको उनले बताए ।

सगरमाथा आरोही लिला बहादुर बस्नेतको नेतृत्वमा रहेको आरोहण दलमा गाउँपालिका अध्यक्ष सञ्जिव ओली, उपाध्यक्ष देविका थामी, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, मेम बहादुर तामाङ, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का, लाक्पागेली शेर्पा लगायत रहेका छन् ।

मौसम अनुकूल भएको खण्डमा दुई सातामा आरोहण सकेर आधार शिविर फर्कने टोलीको तयारी छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता