काठमाडौं, ६ साउन।
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।
बुधबार बिहान श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको करिब एक घण्टा लामो भेटमा समसामयिक राजनीतिक परिस्थिति, वाम एकता र पार्टी एकताको सम्भावनाबारे गम्भीर छलफल भएको स्रोतहरूले जनाएका छन्।
पछिल्लो समय वामपन्थी शक्तिहरूबीच एकताको चर्चा चुलिँदै गएको छ। माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकताको प्रस्ताव पारित गरिसकेको छ। सोही निर्णयअनुसार दुवै पार्टीबीच संवाद र सहकार्यको प्रक्रिया अघि बढाइएको बुझिएको छ।
पार्टी एकताबारे सकारात्मक संकेत देखिएको बताइए पनि औपचारिक रुपमा दुवै नेताले कुनै विवरण सार्वजनिक गरेका छैनन्। यद्यपि स्रोतका अनुसार, आगामी दिनमा औपचारिक वार्ता समितिसमेत गठन गरेर एकता प्रक्रियालाई संस्थागत गर्ने तयारी भइरहेको छ।
यसअघि पनि केही पटक माओवादी केन्द्र र विप्लव समूहबीच कार्यगत एकता र सहकार्यको चर्चा चल्दै आएको थियो। तर यो भेटलाई वाम एकताका लागि निर्णायक कदमको रूपमा हेरिएको छ।