जिरी, दोलखा – साउन २३
अबिरल बस्नेत ` सुरज ´ : सवल नेतृत्व, समर्पित शिक्षक टिम र मेहेनती विद्यार्थीको मिलन हुँदा सरकारी विद्यालय पनि उत्कृष्ट बन्न सक्दछन् भन्ने उदाहरण बनेको छ — जिरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालय। पछिल्ला दुई वर्षमा यो विद्यालयले जुन प्रकारको शैक्षिक प्रगति देखाएको छ, त्यसले दोलखा मात्र होइन, सिङ्गो मुलुकका सरकारी विद्यालयहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ।
विद्यालयले २०८१ र २०८२ सालको परीक्षामा एसईई र कक्षा १२ दुवै तहमा जिल्ला प्रथम विद्यार्थी उत्पादन गर्न सफल भएको छ।
२०८१ सालको एसईई परीक्षामा सुरज केसीले ३.९५ जीपीए ल्याएर दोलखा जिल्लाभर उत्कृष्ठ नजिता स्थापित गर्न सफल भएका थिए । त्यसको ठीक एक वर्षपछि, २०८२ सालको कक्षा १२ को परीक्षामा विज्ञान संकायकी छात्रा मनिषा मगरले ३.६८ जीपीए ल्याउँदै पुनः विद्यालयको शैक्षिक प्रतिष्ठा उच्च बनाएकी छिन्।
विद्यालयको विज्ञान संकायबाट यो वर्ष पहिलो पटक विद्यार्थीहरू परीक्षा सहभागी भएका थिए, जहाँ ११ विद्यार्थीमध्ये ९ जना सफल भए भने व्यवस्थापन संकायका ९ मध्ये ७ जना उत्तीर्ण भए । कूल २० जनामध्ये १६ जना विद्यार्थी सफल, र ती मध्ये १२ जनाले ३.२ जीपीएभन्दा माथिको प्राप्ति गर्नु विद्यालयको गुणस्तरीय शिक्षण पद्धतिको संकेत हो ।
त्यसो त विद्यालयको निरन्तरको सफलतामा मूल श्रेय जान्छ — विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज, पूर्व मन्त्री विषाल खड्कालाई । उनको सक्रिय नेतृत्व, शिक्षामा लगानीप्रति दृढता, र स्थानीय स्तरमै गुणस्तरीय शिक्षाको परिकल्पना नै विद्यालय रूपान्तरणको मुख्य आधार बनेको छ।
अध्यक्ष खड्काले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक सुधार, शिक्षक अभिमुखीकरण, र अनुशासित शैक्षिक वातावरण निर्माणमा विशेष ध्यान दिएका छन्। फलस्वरूप, विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक मात्र होइन, अतिरिक्त क्रियाकलाप, विज्ञान प्रयोगशाला, खेलकुद र सामाजिक चेतना अभिवृद्धिमा पनि उल्लेखनीय प्रगति गरेको छ।
पूर्व मन्त्री खड्काको नेतृत्वपछि विद्यालयमा सुविधासम्पन्न भवन, कक्षा कोठा, प्रयोगशाला र पुस्तकालयको सुविधामा अझै थप विकास भएको छ । कितावी ज्ञानमा मात्रै विद्यार्थीलाई निर्भर गराउनुहुँदैन भनेर पुस्तकालय र कक्षागत बुक कर्नरको माध्यमबाट पाठ्यपुस्तक, सन्दर्भ सामग्री ज्ञानवर्धक र साहित्यका पुस्तकहरूबाट पाठ्यक्रमभित्र र बाहिरका ज्ञान समेत विद्यार्थीले आर्जन गर्न सक्ने व्यवस्था मिलाएको छ ।
हालै उत्कृष्ठ नतिजा ल्याउन सफल छात्रा मनिषा मगरले आफ्नो सफलताको श्रेय विद्यालयका शिक्षकहरू, परिवार र आत्मविश्वासलाई दिएकी छिन्। उता विद्यालय प्रशासनले पनि उनको मेहनत, समर्पण र अनुशासनको खुलेर प्रशंसा गरेको छ।
सरकारी विद्यालयप्रति घट्दो आकर्षणका बीच सहिद स्मृति विद्यालयले देखाएको उल्लेखनीय प्रगतिले यो प्रमाणित गर्छ कि प्रतिबद्ध नेतृत्व र लगनशील टिमका साथै अभिभावकहरुको साथ मिलेका सरकारी विद्यालय पनि निजी संस्थाभन्दा कमजोर हुँदैनन्।