सांसद कार्कीको माग: सडक मर्मतमा तुरुन्त सरकारको ध्यान जाओस्

काठमाडौं , भदौं ५ – बिहीवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै, सांसद गंगा कार्कीले भक्तपुर–धुलिखेल, धुलिखेल–खावा, र खाडिचौर–मुडे–चरिकोट सडक खण्डहरूको दयनीय अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

उहाँले ती सडकहरू लामो समयदेखि मर्मत नहुँदा यात्रुहरूले अत्यधिक पीडा भोग्नुपरेको उल्लेख गर्नुभयो। वर्षायाममा सडक हिलाम्मे, खाल्डाखुल्डीले भरिएको, र कतिपय स्थानमा पहिरोले अवरुद्ध हुने अवस्था रहेको उहाँको भनाइ थियो।

दशैँ–तिहार चाडपर्व नजिकिँदै गर्दा ती सडक खण्डहरूबाट यात्रा गर्ने जनसंख्या थप बढ्ने भएकाले तत्काल मर्मत आवश्यक रहेको उहाँले औँल्याउनुभयो।

“यातायात अवरुद्ध हुँदा सर्वसाधारण मात्र होइन, आपतकालीन सेवा, पर्यटक र स्थानीय व्यवसायहरूसमेत प्रभावित भएका छन्,” सांसद कार्कीले भन्नुभयो, “सरकारले यथाशीघ्र सडक मर्मत तथा सुधारमा ध्यान दिनुपर्छ।”

उहाँले ती सडक खण्डहरू रणनीतिक हिसाबले पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै, दिगो समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको धारणा राख्नुभयो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता