अबिरल बस्नेत
सिन्धुली – ‘हामी सबैको शान, समृद्ध सुनकोशी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सिन्धुलीको सुनकोशी गाउँपालिकामा कृषक स्तरीय किवी खेती सम्बन्धी ४ दिने आवासीय तालिम सम्पन्न भएको छ । सुनकोशी गाउँपालिकाको आयोजनामा तथा बाघवानी विकास केन्द्र बोच, दोलखाको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो।
तालिममा सुनकोशी गाउँपालिका-७ मा रहेको नागी चालिसे मतानवास महाभारत किवी फल समूहका २५ जना कृषकलाई सिन्धुलीबाट दोलखा ल्याएर प्रशिक्षण दिइएको थियो। यसअघि फागुन ६ गतेदेखि ९ गतेसम्म अर्को समूहका कृषकहरूलाई पनि यस्तै तालिम प्रदान गरिएको थियो।
सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा वोहोरा दाहालका अनुसार तालिमले कृषकहरूलाई किवी खेती गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्य राखिएको छ। ‘हाम्रो पालिकाको-७ नम्बर वडामा किवी खेतीको राम्रो सम्भावना रहेकोले कृषकहरूलाई दोलखाको बोचस्थित किवी जोनमै ल्याएर तालिम दिइएको हो,’ अध्यक्ष बोहोराले भनिन्।
उनका अनुसार गाउँपालिकाका सबै वडामा विभिन्न प्रकारका कृषिफल उत्पादनको सम्भावना रहेकोले त्यहाँको हावापानी अनुसार उपयुक्त खेती प्रवर्द्धन गर्न तालिमको आयोजना गरिँदै आएको छ। पालिकाले कृषकलाई आत्मनिर्भर बनाउन अन्य स्थानहरूमा पनि यस्ता तालिम सञ्चालन गर्ने योजना बनाएको उनले जानकारी दिइन्।
चार दिनसम्म चलेको तालिम बिहीबार सम्पन्न भएको हो। तालिम समापन समारोहमा सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा वोहोरा दाहाल प्रमुख अतिथि रहनुभएको थियो भने उपाध्यक्ष कपिल कुमार कोईराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, लेखा अधिकृत विपी लामा, कृषि विकास शाखाका कर्मचारी तथा कृषकहरूको उपस्थिति रहेको थियो।
तालिममा सहभागी कृषकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने बाघवानी विकास केन्द्र बोच, दोलखाका प्रमुख सृजना न्यौपानेलाई सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी कृषकहरूले तालिमबाट धेरै नयाँ ज्ञान हासिल गरेको अनुभव सुनाएका छन् ।
गाउँपालिकाले आगामी दिनमा कृषकहरूलाई आधुनिक प्रविधि मार्फत थप दक्ष बनाउने उद्देश्यसहित यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!