अबिरल बस्नेत ` सुरज´
काठमाडौँ । बाढी पहिरोको जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न नेकपा माओवादी केन्द्रले सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार सिंहदरबारमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई बाढी, पहिरो र डुबानका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको सन्दर्भमा विपत् प्रतिकार्य, पुनर्स्थापना, पुनर्निर्माणलगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
सरकार एक्लैको प्रयासले विपत् व्यवस्थापन सम्भव नहुने भएकाले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको माओवादीले जनाएको छ ।
त्यस्तै माओवादीले राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडित जनताहरूलाई दशैंअघि नै राहत दिन माग गरेको छ ।
माओवादीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले विपद्का न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताए ।
सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरु सहभागी थिए ।