अबिरल बस्नेत ` सुरज ´
दोलखा। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्ना पार्टी र आसेपासेहरूको गतिविधि उजागर गर्ने समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमहरूलाई कारबाही गर्दै आएका छन्। विशेषगरी एमाले र उनका निकट व्यक्तिहरूको आलोचना गर्ने समाचारहरूलाई उनले छानिछानी निशाना बनाएका छन्।
बस्नेतले एमाले र निकट व्यक्ति विरुद्ध प्रकाशित समाचार देख्नेबित्तिकै सम्बन्धित सञ्चारमाध्यमलाई फोनमार्फत धम्की दिने र समाचार हटाउन दबाब दिने गरेका छन्। समाचार हटाउन नमानेका सञ्चारमाध्यमलाई उनले कालोसूचीमा राखिदिने चेतावनीसमेत दिने गरेका छन्।
हालै, दोलखा स्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भएको चोरीसम्बन्धी समाचार प्रकाशित गरेको भन्दै हेर्दा हेर्दै डटकमलाई पनि उनले कालोसूचीमा राखेका छन्।
त्यसपछि, बस्नेतले हेर्दा हेर्दै डटकमका अध्यक्ष सुरज बस्नेत अविरललाई फोन गरेर समाचार तुरुन्त हटाउन दबाब दिएका थिए। तर, समाचार तथ्यपरक भएको भन्दै पोर्टलले समाचार हटाउन अस्वीकार गरेपछि बस्नेतले संस्थालाई नै कालोसूचीमा राखिदिएका हुन्।
त्यस्तै, बस्नेतले हेर्दा हेर्दै डटकमलाई दबाब दिएको अडियो सार्वजनिक गरेको भन्दै दियो पोष्ट नामक अर्को अनलाइनलाई पनि कालोसूचीमा राखेका छन्।
यस घटनाले प्रेस स्वतन्त्रताको हनन भएको भन्दै सञ्चार क्षेत्र र मानव अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्।