जनकपुरधाम, २१ साउन – सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। भारत निकासी गर्नका लागि भण्डारण गरिएको मदिरा नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो।
मृत्यु हुनेमा राजगढ गाउँपालिका–२, कमलपुरका ३५ वर्षीय लालु यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार, राति करिब १० बजेतिर भारत निकासी गर्न राखिएको ठूलो परिमाणको मदिराबारे सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको थियो।
तस्कर समूहले प्रहरीमाथि ढुङ्गामुढा तथा अन्य माध्यमबाट आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो। सो क्रममा चलाएको गोलीमध्ये एक राउन्ड यादवको बायाँ तिघ्रामा लागेको प्रहरीको भनाइ छ।
घाइते यादवलाई उपचारका लागि राति ११:३० बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीले कमलपुरबाट ८० कार्टुन मदिरा बरामद गरेको छ। घटनास्थलमा अझै पनि केही मदिरा लुकाइएको आशंकामा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीमाथि भएको आक्रमणमा परी दुई जना प्रहरी पनि सामान्य घाइते भएको बताइएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।