काठमाडौं । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा फैलिसकेको छ ।
डेंगु संक्रमणबाट हालसम्म १३ हजार २ सय ९२ जना बिरामी भएका छन् । साथै डेंगुबाट १० जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ ।
अस्पतालमा उपचार गराउन जाने बिरामी उल्टो अस्पतालबाटै बिरामी भएर फर्कनुपर्ने उच्च जोखिम देखिएको छ । राजधानीका अधिकांश अस्पताल परिसरभित्र बिग्रिएको उपकरणमा जम्ने पानीबाट डेंगु संक्रमण फैलनसक्ने उच्च जोखिम देखिन्छ । मेडिकल उपकरणमा जम्ने पानी खुला छाडिँदा त्यस्तो ठाउँबाट डेंगु फैलाउने लामखुट्टेलाई सहज बनिरहेको छ । राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल परिसरभित्र पानी जम्ने ठाउँ खुला देखिन्छन्, जहाँ डेंगु फैलाउने लामखुट्टेलाई बस्न सहज भइरहेको छ ।
कतिपय अस्पतालमा बिग्रिएका उपकरण र थोत्रा टायरमा पानी जमेर बसेको भेटिन्छन् । जसले गर्दा डेंगु लागेर उपचार गराउन जाने बिरामी नै थप जोखिममा पर्ने सम्भावना देखिएको छ । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण फैलन नदिन घर’चयगलम सरसफाइ गर्न र पानी जम्ने खाल्डो पुर्न भनेको छ । तर, सरकारी अस्पालत परिसरमा बिग्रिएका उपकरणमा जम्ने पानीले डेंगु संक्रमणलाई झनै भयावह बनाउने देखिन्छ ।
केही दिनदेखि मुलुकभर अबिरल वर्षासँगै डेंगु संक्रमण तीव्र गतिमा बढ्ने सम्भावना बढ्ने देखिएको छ । डेंगु फैलाउने लामखुट्टेले घर र कार्यालयवरिपरि जम्मा भएको सफा पानीबाट उत्पत्ति हुनेगर्छ । थोरै वा धेरै मात्रामा रहेको सङ्लो पानीमा त्यस्तो प्रजातिको लामखुट्टेले अण्डा पार्छ । संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउँछन् । डेंगु एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्नेगर्छ । गर्मी क्षेत्र ९ट्रोपिकल एरिया०मा बढी हुने यो रोग केही वर्षयता नेपालका पहाडी जिल्लामा मात्रै नभई हिमाली जिल्लामा पनि देखापरेको छ । हिमाली जिल्ला संखुवासभामा हालसम्म १ सय ५६ जनामा संक्रमण देखिसकेको छ ।
डेंगुको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ७ हजार ८९ जना डेंगुबाट संक्रमित भएका छन् । साथै, मोरङमा १ हजार ५ सय ९१, धादिङमा १ हजार २ सय दुई, झापामा ८ सय ९६, कास्कीमा २ सय ४७, धनकुटामा २ सय ३६, काठमाडौंमा १ सय ९६, दार्चुलामा १ सय ९४, संखुवासभामा १ सय ५६ तथा चितवनमा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा। रुद्रप्रसाद मरासिनीका अनुसार पछिल्लो समय डेंगु संक्रमण बढिरहेको छ । सरसफाइ र सतर्कता नअपनाए जोखिम उच्च दरमा बढ्ने भएकाले आमनागरिकलाई सचेत हुन मरासिनीले आग्रह गरेका छन् ।
महाशाखाका अनुसार बाग्मती प्रदेशमा १ हजार ७ सय ९३, गण्डकीमा ५ सय १०, सुदूरपश्चिममा ४ सय १७, लुम्बिनीमा २ सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेंगुको संक्रमण देखिएको महाखाले जनाएको छ ।
यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।