दोलखा स्थित विगु गाउँपालिकामा रहेको जोखिमयुक्त ढुंगाले सिँगटी बजारमा निम्त्याउन सक्ने क्षतिको आँकलन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले रक्षा सचिवलाई समस्या समाधानको निम्ती पहल गर्न निर्देशन दिएका छन् ।
सरकारले सुरु गरेको हेल्लो सरकार कार्यक्रम मार्फत आइतबार प्रधानमन्त्री दाहालले सिंगटी बजारमाथि रहेको करिब ३७ मिटर लामो ढुङ्गाको तत्काल ब्यबस्थापन गर्न रक्षा सचिव किरण राज शर्मालाई निर्देशन दिएका हुन् । लामो समयदेखि भीरमा अड्केर बसेको उक्त ढुंगाको नेपाली सेना र राष्ट्रिय विपद् प्राधिकरणको विज्ञ टोलीले अध्ययन समेत गरिसकेको छ ।
गाउँपालिका अध्यक्ष सन्जिव ओलीले उक्त ढुंगाको व्यवस्थापनका लागि सुरक्षा निकायसँग समन्वय गरेका थिए । शनिवार काठमाडौँ पुगेर माओवादी नेता सहित प्रधानमन्त्री समक्ष समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । उक्त पहल लगतै प्रधानमन्त्री दाहालले रक्षा सचिवलाई समस्या समाधानको निम्ति पहल गर्न निर्देशन दिएका हुन् ।