दोलखा, १२ असोज । दोलखाको लामाबगर नाका हुँदै भित्रिएको चार किलो सुन र त्यसमा संलग्न व्यक्तिहरु पक्राउ गरी सार्वजनिक गरेको भोलिपल्टै शुक्रबार प्रहरीले थप ३ केजी सुन बरामद गरेको छ ।
थप सुन रहेको भन्ने सूचनासँगै गएको प्रहरी टोलीले यसअघि सुन भेटिएको विगु ३ जामुने स्थित एक होटलबाटै थप सुन बरामद गरेको हो । सो सम्बन्धमा थप विवरण आउन भने बाँकी रहेको छ । प्रहरीले बुधबार राती जामुनेबाट बरामद भएको चार केजी सुन र त्यसमा संलग्न विगु गाउँपालिका १ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु १ गोंगरका २० वर्षीय माधव मगर, विगु १ लामावगरका ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र १८ वर्षीय पेम्बा तामाङलाई बिहिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।