दोलखा । जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि दोलखाको सिङ्गटी बजार स्थित खोलिखिम खेल मैदानमा सुरु हुँदैछ ।
विगतमा दोलखा सदमुकाममा मात्रै संचालन गरिँदै आएको प्रतियोगिता यस पटक सदरमुकाम बाहिर आयोजना गर्ने तयारी गरिएको छ । प्रतियोगिताको जिम्मा विगु गाउँपालिकालाई दिइएको
जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटीले जानकारी दिए ।
खेलाडी र व्यवस्थापक टिमलाई पालिकाले स्थानीय होटल तथा घरमा खाने बस्ने सुविधा मिलाएको व्यवस्थापन टिमका अध्यक्ष विमल ओलीले जानकारी दिए । खेलमैदान व्यवस्थापनको कार्य पुरा भएको छ भने वरीपरीको बजारलाई बेहुली झैँ सिङ्गगारीएकाे छ । पहिलो पटक विगुमा प्रतियोगिता हुने भएपछि स्थानीय खुशी भएका छन् ।
गाउँपालिकाले खेल क्षेत्रको विकासका साथै खेल पर्यटनमा टेवा पुग्ने अपेक्षा राख्दै प्रतियोगिता संचालन गर्न जिम्मेवारी लिएको जनाएको छ ।
प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दौड, रिले दौड, कपर्दी, हाइजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो, सितेरियो कराँते लगायत खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगिताका लागि जिल्लाका ९ वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरी खेलाडी छनौट गरिसकेका छन् । जिल्लामा छनौट भएका खेलाडी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा खेलाडी र अफिसियल गरी ९ सय देखि एक हजार जनाको उपस्थिति हुने अनुमान गरिएको छ ।
प्रतियोगिता १३ गतेसम्म चल्नेछ ।