राजकुमार भुजेल,दोलखा। जिल्ला ट्राफिक कार्यालय दोलखाले विद्यार्थीहरुलाई ट्राफिक सचेतना अभियान सुरु गरेको छ । विद्यार्थीहरुलाई आ-आफ्नै विद्यालयमा पुगेर ट्राफिक नियम सम्बन्धि सचेतना मुलक अभियान सुरु गरेको हो ।
ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरेको जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराईको बताए। शुक्रबार जिल्लाको तामाकोशी गाउँपालिकासँग समन्वय गरेर जिल्ला प्रहरी कार्यालय दोलखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा वडा नं ३ जफे स्थित सितापाइला माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरेको थियो। सो अवसरमा कक्षा ८ देखि ११ सम्मका सम्पुर्ण विधार्थीहरुलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराएको जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरीक्षक भट्टराईले बताए। माध्यमिक विद्यालयबाट सुरु भएको जनचेतनामुलक कार्य जिल्लाको सबै स्थानिय तहका विद्यालयहरुमा सञ्चालन गरिनेछ उनले भने “विद्यार्थीलाई ट्राफिक शिक्षा दिन पाएमा प्रभावकारीता अझ बढि हुदै जान्छ ।”
त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले “हेर्दाहेर्दै” सँगको सम्वादमा गाउँपालिका भित्रका सम्पुर्ण माध्यमिक विद्यालयमा हप्ताको शुक्रबार ट्राफिक कार्यालय दोलखा सँग समन्वय गरेर विद्यार्थीलाई ट्राफिक नियमका बिषयमा जानाकारी गराउने बताए। कार्यक्रमको प्रशिक्षण जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरीक्षक भट्टराई र प्रहरि सहायक हवल्दार उज्ज्वल घिमिरेले दिएका थिए।