सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ।आइतबार प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका-९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका-७ तनहुँका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गर्दै फर्किने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो।सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।गम्भीर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएको थियो।
अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।