दोलखा । भैंसीको पाडी खरिद सम्वन्धी विषयलाई लिएर जिरी नगरपालिका-७ को वडा कार्यालयमा ताला लगाइएपछि वडा अध्यक्ष शान्त नेपालीले किसानहरुलाई ताला खोल्न आग्रह गरेका छन् । वडाले प्राविधिक कारण किसानलाई उक्त अनुदान उपलब्ध गराउन नसकेकोप्रति दुख ब्यक्त गर्दै अध्यक्ष नेपालीले तत्काल ताला खोलेर वडाको काम कारबाहीलाई सुचारु रुपले अगाडी बढ्न दिन आग्रह गरेका हुन् ।
उनले साझेदारी वापत किसानवाट उठेको रकम वडा कार्यालयसँग सुरक्षित रहेकोले सो रकम फिर्ता गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । पाडी खरिदका लागि १०० जना किसान आवश्यक पर्नेमा ४५ जना मात्रै तयार भएको र बाँकी किसानको संख्या अपुग भएपछि कार्यक्रम गर्न नसकिएको वडा अध्यक्ष नेपालीको दावी छ । ‘यो कार्यक्रम किसानकै हितका लागि हो, वडाका किसानलाई ५० प्रतिशत साझेदारीमा १०० वटा पाडी वितरण गर्ने भनिएको हो । तर बजेट कार्यान्वयन हुन सकेन ।’ उनले भने- यसमा हामी पनि दुखी छौँ । तर किसानको पैसा खेर गएको छैन । उहाँहरुलाई नै फिर्ता गछौँँ ।’
विहीबार एक विज्ञप्ती जारी गर्दै वडाले यस विषयमा अराजक तत्वहरुले सामान्य विषयलाई अतिरञ्जित ढंगबाट किसानलाई उचाल्ने काम भएको बताइएको छ । रकम सुरक्षित रहेको भन्दाभन्दैपनि तालाबन्दी गरेर जनताको सेवामा अवरोध सिर्जना गर्ने काम भएको विज्ञप्तीमा उल्लेख छ ।
उहाँका अनुसार एक जना किसानलाई २० हजार बराबरको पाडी वितरण गर्ने र त्यसमा किसानले ५० प्रतिशत अर्थात १० हजार रकम साझेदारी गर्ने गरी कार्यक्रम तय गरिएको थियो । तर, आर्थिक वर्षको अन्तिमसम्म पनि किसान र वडा कार्यालयकोतर्फवाट वाट समेत कार्यक्रम कार्यान्वयन गरी भुक्तानी माग नभएका कारण बजेट फ्रिज गएको हो ।