दोलखा, २० साउन । दोलखा सदरमुकाम चरिकोट स्थित एपेक्स स्कुलको ‘हेप्पी ग्रेण्ड प्यारेन्टस् डे’ सम्पन्न गरेको छ ।
शनिबार चरिकोटमा आयोजना गरिएको सो कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागि भएका विद्यार्थीहरुका हजुरबुबा, हजुरआमा तथा अभिभावकहरु आफ्ना बाबुनानीले प्रस्तुत गरेको गीत, सङ्गित, नृत्य, नाटक, साहित्य लगायतका प्रस्तुती देखेर दङ्ग परेका थिए । आफ्नो परिवारका ज्येष्ठ सदस्यहरु प्रति विद्यार्थीहरुको सम्मान भाव बढ्ने र परिवारका ज्येष्ठ सदस्यहरुलाई पनि आफ्ना सन्ततीको कला प्रतिभा हेर्ने अवसर प्राप्त हुने भएकाले हेप्पी ग्रेण्ड प्यारेन्टस् डे कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल नसिव कायस्थले जानकारी दिए । सो अवसरमा विद्यार्थीका ज्येष्ठ अभिभावकहरुको सामान्य स्वास्थ्य जाँच समेत गरिएको थियो ।
चरिकोटको चरिघ्याङमा रहेको एपेक्स स्कुल जिल्लाका अन्य संस्थागत विद्यालयहरुको तुलनामा फरक र प्रभावकारी शैलीका अतिरिक्त कार्यक्रम गर्ने स्कुलका रुपमा परिचित छ । २०६८ सालमा स्थापना भएको एपेक्स स्कुल मन्टेस्वरी विधिबाट पठनपाठन हुने जिल्लाको पहिलो नीजि स्कुल हो । प्रि नर्सरीदेखि कक्षा ७ सम्म पढाई हुने सो स्कुलमा हाल २ सय ३० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।