राजकुमार भुजेल,दोलखा । यस वर्षको हरितालिका तीज भब्यताका साथ मनाइएको छ । महिलाहरुको यो विशेष पर्वलाई उनीहरुले विभिन्न मन्दिर तथा शिवालयहरुमा पुजा आराधना तथा मनोरञ्जनात्मक कार्यक्रम गरेर मनाएका छन् ।
जिल्लाको सदरमुकाम चरिकोट स्थित पशुपति मन्दिरमा बिहानैदेखि व्रतालु महिलाहरूको घुइँचो लागेको थियो। महिलाहरुले लामबद्ध भएर मिलिजुली एकताका साथ पुजाआराधना गरेका थिए भने कोटिहोम मन्दिरमा पनि व्रतालु महिलाहरूको बाक्लो उपस्थिति थियो। त्यसैगरी, सातदोबाटो चोकमा भने महिला चेम्बर अफ कमर्सको आयोजनामा भएको तिज बिशेष कार्यक्रममा महिलाहरुले गीत तथा नाच प्रस्तुत गरेका थिए ।उक्त कार्यक्रमलाई महिलाले मात्र नभइ पुरुषले पनि हेरेर मनोरञ्जन लिएका थिए।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै भिमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले महिला दिदीबहिनी तथा आमाहरुलाई आफ्नो परापुर्व कालदेखी चलिआएको सँस्कृतिलाई संरक्षण गर्न आग्रह गर्नुभयो। उहाँले आफ्नो रितिरिवाजलाई अन्यथाका रुपमा लिन नहुने र आफ्नो संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो। उपमेयर बस्नेतले आफ्नो सारा दुःखलाई भुलेर आज एकदिन भएपनि हाँसीखुसी रमाइलो गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा विभिन्न समुहमा नाच्ने उत्कृष्ट महिलाहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा पृथक अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको पाईन्छ।