दोलखा गौरिशंकर गाउँपालिकाको आयोजनामा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित मानेडाँडा माध्यमिक विद्यालयमा निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण, आङ खस्ने रोग र फिस्टुला रोगको परीक्षण र उपचार गरिएको हो ।
शिविरमा २ सय १६ जना महिलाले उपचार सेवा लिएका छन् । शिविरमा ५ जना महिलाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । उनीहरुलाई काठमाडौँ लगेर निशुल्क शल्यक्रिया गरिने क्याप्टिभेटिङ नेपालका प्रतिनिधि भरत खड्काले बताए ।
शिविरका लागि भक्तपुर स्थित क्याप्टिभेटिङ नेपालले प्राविधिक सहयोग गरेको छ । शिविरमा विद्यार्थीहरुको आँखाको परिक्षण समेत गरिएको छ । सोमबार २२० जना विद्यार्थीले आँखा परिक्षण गरेका छन् ।
गाउँपालिका अध्यक्ष विश्वास कार्कीले स्थानीय समुदायमा आमा, दिदिबहिनीहरुले रोग लुकाएर बस्ने तथा आर्थिक अवस्थाका कारण अस्पताल नजाने गर्दा झनै स्वास्थ्य अवस्था खराब हुने हुँदा शिविर मार्फत स्वास्थ्य परिक्षण गरिएको बताए । अध्यक्ष कार्कीले शिविरमा आफ्नो स्वास्थ्य अबस्थाबारे अप्ठ्यारो नमानी अनिवार्य सहभागिताका लागि समेत अनुरोध गरे ।
गौरीशंकर गाउँपालिका ३ का अध्यक्ष तथा सामाजिक विकास समितिको संयोजक युग बहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त शिविरको प्रमुख अतिथि गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, विशेष अतिथि गौरिशंकर गाउँपालिका ४ का अध्यक्ष शिवहरि खत्री, अतिथी क्याप्टिभेटिङ नेपालका प्रतिनिधि भरत खड्का थिए । शिविर मंगलबारसम्म सञ्चालन हुनेछ ।