दोलखा । ‘भर्जिन’ हिमालका रुपमा रहेको दोलखाको ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरेर विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओली सहितको टोली लामाबगर फर्किएका छन् । गत पुष ९ गते हिमाल आरोहणका लागि प्रस्थान गरेका पालिका अध्यक्ष ओलीसहितको ९ सदस्यीय टोली ८ दिनपछि आइतबार लामाबगर आइपुगेका हुन् । टोलीलाई लामाबगरमा स्थानीयहरुले भव्य स्वागत गरेका छन् ।
टोलीमा रहेका मध्ये ६ जना विगु गाउँपालिका अध्यक्ष सन्जिव ओलि , सगरमाथा आरोही लिला बहादुर बस्नेत , निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का, लाक्पागेली शेर्पा लगायत रहेका थिए ।छोपा बामरे हिमालको चुचुरोमा पुग्न सफल भएका थिए । हिमालको सफल आरोहण गरेर फर्किएका गाउँपालिका अध्यक्ष ओलीले छोपा बामरेको चुचुरोमा पुग्न सफल भएकोमा खुसी ब्यक्त गरे । दोलखाका असंख्य हिमचुचुरा मध्ये छोपा बामरे भर्जिन हिमाल भएको र पहिलो पटक आफुहरु सफल रुपमा उक्त हिमालको चुचुरोमा पुग्न सफल भएको उनले बताए ।
हिमाल आरोहणले दोलखाको पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अध्यक्ष ओलीले छोटो समयमा सहज रुपमा पुग्न सकिने रमणीय हिमाल भएकाले हिमाल आरोहीहरुलाई छोपा बामरेको यात्रामा आउन आह्वान गरेका छन् ।
विगु गाउँपालिका१ स्थित लामाबगरको उत्तरपश्चिममा अवस्थित ६ हजार १ सय ९ मिटर उचाईको उक्त हिमालबाट सगरमाथा, गौरिशंकर, मकालु, चोयु, लोत्से लगायतका ८ हजार मिटर भन्दा बढि उचाइका हिमाल समेत अवलोकन गर्न सकिने आरोहण टोलीले जानकारी दिए ।
सगरमाथा आरोही लिला बहादुर बस्नेतको नेतृत्वमा रहेको आरोहण दलमा गाउँपालिका अध्यक्ष सञ्जिव ओली, उपाध्यक्ष देविका थामी, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, मेम बहादुर तामाङ, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का, लाक्पागेली शेर्पा लगायत रहेका थिए ।