दोलखा । दोलखाको तामाकोशी नदीमाथि निर्माणाधिन मोटरेवल पुल ७ वर्ष पुग्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन । ठेक्का मार्फत पुल निर्माणको जिम्मा लिएको मिलगिरी नेशनल जेवीको लापरबाहीका कारण लामो समयदेखि पूल अलपत्र परेको छ । नाजुक अवस्थामा रहेको पुलले ठेकेदारको लापरबाही सँगै हाम्रो विकासको अवस्था झल्काएको छ ।
जिरी लामोसाघु सडक खण्डको यो पुलले भीमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका, तामाकोसी गाउँपालिका ,जिरी नगरपालिका र सदरमुकाम चरिकोट देखि रामेछापलाई जोड्छ । तामाकोसी नदीमाथिको लामोसाँघु जिरी सडकखण्डको पुल पुरानो भएपछि नयाँ पुल निर्माणलाई अघि बढाइएको थियो ।
पुल निर्माणको लागि २०७३ भदौं ७ गते मिलगिरी नेशनल जेवी कम्पनी र पुल योजना महाशाखाबीच नौ करोड ७४ लाखमा २ वर्षभित्र सक्ने गरी सम्झौता भएको थियो । तर,ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल सम्पन्न हुनुपर्ने समय सकिएर ५ वर्ष बित्नलाग्दा पनि निर्माण हुन् सकेन ।
पुल निर्माणका लागि पुल योजना महाशाखाले २ पटक म्याद थप गरिसके छ तैपनि यो पुल तत्काल बन्ने छाट्काट छैन । राज्य लाचार कि ठेकेदार बद्मास भन्दै स्थानीय आक्रोस पोखिरहेका छन ।
फुटपाथ सहित ११ मिटर चौडाई र ७५ मिटर लम्वाईको पुल कहिले सम्पन्न हुने हो त्यसको टुंगो छैन ।यता,नयाँ पुल निर्माणमा ढिलाई हुँदा ३७ वर्ष पुरानो तामाकोसी पुल उच्च जोखिममा परेको छ । साथै ३७ वर्ष पुरानो पुलले तामाकोसी नदीको पानीको वहाव थाप्न नसकेर बगेको खण्डमा सदरमुकाम चरिकोटसम्मको सडकसम्पर्क टुट्ने छ । योसँगै रामेछापतर्फको सडक पनि बन्द हुनेछ । विकास निर्माणको यस्तो गैरजिम्मेवार कामले ठेकेदार पक्ष र सम्बन्धित सरकारी निकायलाई नै गिज्याउने काम गरिरहेको छ । ठेकेदारलाई बेलगाम छाडेर विकास आयोजना अलपत्र पार्ने कि जिम्मेवार बनेर नियमन र खबरदारीमा खरो उत्रीने स्थानीयले तीनतहका सरकारमाथि नै असन्तुष्टि पोखिरहेका छन् ।