२२ माघ, चरिकोट । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ मा रहेको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारीमा झण्डै ३३ लाख रुपैयाँ चोरी भएको एक साता बितिसकेको छ ।
तर नत अहिलेसम्म त्यति धेरै रकम चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् नत बचतकर्ताले ढुक्कको सास फेर्न पाएका छन् । उल्टै घटना घटेका बेला नियन्त्रणमा लिइएका सहकारीका व्यवस्थापक र घरधनीलाई सामान्य सोधपुछमै प्रहरीले छाडिदिएकोे छ । व्यवस्थापक महेन्द्र भुजेल र घरधनी कपिलमणी न्यौपानेलाई करिव २४ घण्टा हिरासतमा राखेर प्रहरीले सहकारीका अध्यक्ष छत्रराज उप्रेती लगायतका सञ्चालकलाई नै जिम्मा लगाएको थियो । त्यसपश्चात घटनाको छानविन भइरहेको बताउने प्रहरीले न त हराएको पैसा कतै बरामद गरेको छ, न त चोरीमा संलग्न व्यक्तिको सम्बन्धमा कुनै क्लु?
स्मरण रहोस् सहकारीका घरधनी न्यौपाने यसअघि उक्त सहकारीका कोषाध्यक्ष रहँदा पनि आर्थिक अपचलनको काण्ड घटेको थियो । सोही विषय पेचिलो बन्दा सहकारीको पछिल्लो नेतृत्व चयनमा समेत निक्कै रस्साकस्सी भएको थियो । स्थानीयका अनुसार घरधनी न्यौपाने र हालका अध्यक्ष उप्रेती एउटै राजनीतिक दलमा रहे पनि त्यति राम्रो मेल थिएन । यसैको असर स्वरुप न्यौपानेकै घरमा सत्यश्वर नाम गरेको बहुउद्देश्यीय सहकारी कार्यालय खोल्न आइपुगेको अनुमान पनि गरिन्छ ।
हुन त सूर्याेदय सहकारीका अधिकांश सञ्चालक खुलेरै एमालेको राजनीतिमा लागेका व्यक्तिहरु छन् । न्यौपाने र भुजेललाई प्रहरीले छाडेको दिन पनि सदरमुकाम चरिकोटमा एमालेका ठूलै नेताको रहोबरमा रणनीतिक बैठक बसेको स्रोतको भनाइ छ । उक्त बैठकपछि घटनाका बखत कडा देखिएका केही सञ्चालकहरु पनि एकाएक नरम भएको स्थानीयहरु बताउँछन् । जिल्लाको सहकारी क्षेत्रलाई कब्जा जत्तिकै गरेको एमालेले सूर्याेदय सहकारीको छानविनमा पनि तगारो त लाइरहेको छैन? प्रश्न निरुत्तर छ । त्यसो त झण्डै बाह्र सय भन्दा बढी सदस्यको त्यति धेरै रकम हराइरहेको विषयमा जिल्लाका अन्य राजनीतिक दलहरु तैँ चुप मै चुपको स्थितीमा छन् ।
सहकारीमा विगत साँढे २ वर्षदेखि व्यवस्थापकको रुपमा कार्यरत भुजेल सामान्य परिवारका व्यक्ति हुन् । घटना घटेका बखत पैसा राखिएको भल्टका सबै चाबी कार्यालयमै छाडेर हिँडेका उनले नियतले नै चाबी छोडे वा कसैले दवाव वा प्रलोभनमा पार्यो भन्ने विषय रहस्यमय छ । सामान्यतया कुनै पनि सहकारीले त्यति धेरै रकम एकै साथ भल्टमा राख्न नपाउने प्रावधान छ । राख्नु परे पनि सञ्चालक समितिको निर्णय सहित बिमा गरेर राख्नुपर्ने हुन्छ । तर सूर्योदयमा यो दुवै कुरा नभएको खुल्न आएको छ । बुझिए अनुसार गत श्रावण महिनादेखिकै सम्पूर्ण रकम सहकारीको भल्टमा राखिँदै आएको थियो । संस्थामा यति धेरै रकम हुँदा पनि शेयर सदस्यहरुलाई ऋण लगानी त परैको कुरा बचत फिर्ता माग्दा समेत नदिएको भन्दै उजुरी समेत परेका घटना बाहिरिएका थिए । यसरी बिना लगानी र बचत समेत फिर्ता नगरी ठूलो रकम जम्मा गरेर चोरी भएको घटना बाहिरिँदा शङ्काको सुइरो सञ्चालक, व्यवस्थापक र पूर्व सञ्चालक तर्फै तेर्सिएको छ ।
यद्यपी घटनाको निष्पक्ष एवं चुस्त छानविन हुनेमा भने बचतकर्ता र सरोकारवालाहरु विश्वस्त छैनन् । सोमबार कार्यालय परिसरमा भेला भएका झण्डै दुइ सय बचतकर्ताहरुले सहकारीका सञ्चालकहरुले पर्याप्त चासो नदिएको भन्दै घटनाको निष्पक्ष छानविनमा दवाव दिन र सहयोग गर्न चक्र प्रसाद उप्रेतीको संयोजकत्वमा सरोकार समिति बनाएका छन् । उक्त समितिले मङ्गलबारबाटै प्रमुख जिल्ला अधिकारीका साथै अन्य सरोकारवालाहरुलाई घटनाका सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने जनाइएको छ ।
यद्यपी दोलखाको हालको सहकारी काण्ड र विगतका काण्ड केलाउने हो भने वास्तविक दोषीहरु कानूनी दायरासम्म नपुगी केस सामसुम पारिएको छ । हालै मात्र मेलुङ गाउँपालिकाकै गाउँघर साना किसान सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकले झण्डै डेढ करोड रकम आफूखुसि हिनामिना गरेको कुरा बाहिर आएको थियो । त्यस्तै कालिञ्चोक ६ को एक सहकारीमा पनि हिनामिना भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । केही वर्ष पहिले दोलखाको जनमूखि साकोसको आर्थिक हिनामिनाको घटना बाहिरिँदा सामान्य कर्मचारी हिरासतमा पुग्ने तर वास्तविक दोषी सम्पर्कमै नआई समस्या समाधानका नाममा उन्मुक्ति भएको यथार्थ पनि जगजाहेर नै छ । यस्तोमा सूर्योदय सहकारीको यो नाटकिय शैलीको चोरी काण्डलाई निष्पक्ष ढङ्गबाट छानविन गरी दोषीलाई कारबाही र आम बचतकर्ताको पसिनाको कमाइको संरक्षण गर्न दोलखा प्रहरी सफल हुन्छ कि हुँदैन, हेर्न बाँकी छ ।