दोलखा,१४ फागुन । शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विज्ञान शिक्षक समाज कालिञ्चोकले नयाँ अभ्यास सुरु गरेको छ । शिक्षण सिकाईमा सहयोग पुग्ने भन्दै उक्त संस्थाले विज्ञान विषयलाई लक्षित गरी हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको हो ।
स्टान कालिञ्चोक गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर थामीले विज्ञान विषयमा विद्यार्थीहरुलाई थप अब्बल बनाउन पहिलो पटक विषयगत हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको बताए । ‘नजिकिँदै गरेको एसईई र कक्षा ९ को वार्षिक परीक्षा समेतलाई ध्यानमा राखी शैक्षिक गुणस्तर अभिबृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको हो, उनले भने ।
जिल्लाको उत्तरी सिङ्गटी बजार स्थित कालिनाग माविमा आईतवार सम्पन्न अन्तर विद्यालय स्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगितामा १० वटा विद्यालयहरु सहभागी भए । जसमध्ये प्रतियोगितामा हिलेपानी संस्कृत मावि प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा कालिनाग मावि सुनखानी द्वितिय र कालिनाग मावि सिङ्गटी तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गर्ने टिमले क्रमशः ७ हजार, ५ हजार, ३ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र पाएका छन् । बिजयी विद्यालय तथा विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
कार्यक्रम सम्पन्न गर्न दोलखा घर भइ हाल कोरिया बस्दै आएका अभि थापा, रोहित बस्नेत,, जापान बस्दै आएका टेक थामी र कालिञ्चोक गाउँपालिकामा कार्यरत विज्ञान शिक्षकहरुले सहयोग गरेको स्टान कालिञ्चोकका सचिव बद्री नारायण खत्रीले जानकारी दिए । कार्यक्रममा कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, विज्ञान शिक्षक समाज (स्टान) दोलखाका अध्यक्ष सुन्दर खड्का, प्रताप स्मृति कलेजका प्रमुख रामबहादुर खड्का लगायतको उपस्थिति थियो ।