राजकुमार भुजेल,दोलखा। जिल्लाको पर्यटकीय स्थल जिरीमा दोस्रो जिरी महोत्सव सुरु भएको छ। “नेपालको स्वीजरल्याण्ड, सगरमाथाको प्रवेशद्वार ! समृद्ध जिरी निर्माणमा अर्गानीक कृषि, पर्यटन, संस्कृति र उद्योग छन् आधार” भन्ने मुल नाराका साथ जिरी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव सुरु भएको हो।
१० दिन सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भन्डारीले गरेका हुन् । जिरीभित्रका पर्यटकीय स्थललाई गन्तव्यका रूपमा विकास र स्थानीय मौलिक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संङ्घले जनाएको छ।
महोत्सवमा कृषि उपजहरुको प्रदर्शन र विक्री , हस्तकला, चित्रकला, वस्तुकलाको प्रदर्शन र विकी,रमाईलो खेल तथा मनोरञ्जन,कलाकारहरुको बेजोड प्रस्तुती,साँस्कृतिक झाँकी प्रदर्शन,विभिन्न प्रतियोगिता,मौलिक खानाका परिकार ,गुराँस, चिमाल, सुनाखरी, चौरी, बन्यजन्तु, हिमश्रृखला, चिया, लोक्ता याक चिज, छुर्पी, ध्यू आदि उत्पादनको साथै पदयात्राको समेत ब्यवस्था गरिएको छ। महोत्सव आगामी वैशाख २ गतेसम्म चल्नेछ
महोत्सवको आकर्षणका लागि प्रत्येक दिन राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा भव्य सांगीतिक कार्यक्रमहरू भइरहेका छन्। संघका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षता र मन्त्री भण्डारीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, बुद्धिजिवी, कलाकार सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।