दोलखा । भीमेश्वर नगरपालिका-५ का स्थानीयले श्रमदानबाट सडकको स्तरोन्नती थालेका छन् । साविकको वडा नम्बर ९ स्थित अनाथालयदेखि महांकालसम्मको सडक स्थानीयले श्रमदानबाटैनै स्तरोन्नती गर्न लागेका हुन् ।
लामो समयदेखि जीर्ण बनेको उक्त सडकको कुनैपनि निकायले स्तरोन्नती गर्न पहल नगरेपछि गाउँलेले जनश्रमदानबाटै सडकको सुधार थालेका हुन् । सडक लगायत अन्य विकास निर्माणमा नगरपालिका तथा वडाबाट वेवास्ता भएको भन्दै शनिबार नयाँ बर्षको अवसर पारेर स्थानीयले दबाबमूलक कार्यक्रमको घोषणा गरेका हुन् ।
अनाथालय-महांकाल सडक भीमेश्वर नगरपालिकामा रहेको सबैभन्दा पुरानो सडक हो । अब हरेक महिनाको अन्तिम शनिवार यसैगरि सडक निर्माणका लागि स्थानीयहरु जन श्रमदानका लागि उपश्चित हुने स्थानीय अर्जुन थापाले बताए । लामो समयदेखि जीर्ण बनेको सडक स्तरोन्नतीका लागि स्थानीय तहका जनप्रतिनिधिहरुले वेवास्ता गरेको प्रति नेपाली कांग्रेसका नेता वाबुकाजी बस्नेतले चिन्ता ब्यक्त गरेका छन् ।