सुनखानी, १६ बैशाख । दोलखाको कालिञ्चोक गाउँपालिका भित्रका विद्यालयबाट गत वर्षको आधारभुत तह कक्षा आठको परीक्षामा सहभागि विद्यार्थीहरु ग्रेडवृद्धिको परीक्षाबाट बन्चित भएका छन् ।
आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण सम्बन्धी मापदण्ड २०७६ मा नयाँ शैक्षिक सत्र सुरु भएको १५ दिन भित्र ग्रेडवृद्धिको परीक्षा सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । तर मूख्य परीक्षामा सहभागि भएर अवर्गिकृत भएका कालिञ्चोक गाउँपालिकाका ७६.३९ प्रतिशत विद्यार्थीहरु ग्रेडवृद्धिको परीक्षा दिनबाट बन्चित भएका हुन् । कालिञ्चोक गाउँपालिकाका कक्षा आठ सञ्चालन भएका सत्र ओटा सामुदायिक र एक संस्थागत विद्यालयका ३७७ जना विद्यार्थी गत शैक्षिक सत्रको वार्षिक परीक्षामा सम्मिलित भएकोमा ८९ जना मात्रै वगिकृत भएका थिए । २८८ परीक्षार्थी अवर्गिकृत भएको परीक्षामा तीन ओटा विद्यालय त नील नै गएका थिए । मापदण्डको परिच्छेद ६ मा परीक्षामा डि प्लस भन्दा कम ग्रेड प्राप्त गरेका विषयमा सम्बन्धित परीक्षार्थीले ग्रेडवृद्धि गर्न चाहेमा सम्बन्धित स्थानीय तहले आवश्यक व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख रोशनी आचार्यले गाउँपालिकाको निर्णय बमोजिम नै ग्रेडवृद्धिको परीक्षा नभएको जानकारी दिइन् । खासमा ग्रेडवृद्धिको परीक्षा नहुनुमा जिम्मेवार को भन्ने प्रश्न नै अनुत्तरित छ कालिन्चोक गाउँपालिकामा । वार्षिक परीक्षा अगाडी गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीको अध्यक्षतामा बसेको प्रधानाध्यापकहरुको बैठकमा परीक्षामा कुनै पनि कृपाङ्क (ग्रेस मार्क) नदिने निर्णय भए पनि ग्रेडवृद्धि परीक्षाका सम्बन्धमा कुनै निर्णय नभएको स्रोतको भनाइ छ । तर परीक्षा सकिएर नतिजा आएपछि प्रधानाध्याकहरुले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न आग्रह गर्दा पालिका अध्यक्ष शिवाकोटीले ठाडै अस्वीकार गरेकोे एक प्रधानाध्यापकले नाम नखुलाउने शर्तमा हेर्दाहेर्दैलाई बताए । उनका अनुसार ९ गतेको बैठकमा अध्यक्ष शिवाकोटीले अब यसपालीलाई यस्तै हो, आगामी वर्षका लागि राम्रोसँग तयारी थाल्न भन्दै ग्रेडवृद्धि, कृपाङ्क लगायत कुनै कुरा नहुने स्पष्ट बताएका थिए ।
त्यसो त कालिन्चोक गाउँपालिकामा परीक्षा सम्बन्धी अन्य मापदण्ड पनि पालना भएको छैन । मापदण्डमा भएको प्रश्नपत्र निर्माण, परिमार्जन, छपाइ र वितरण सम्बन्धी व्यवस्था पनि कालिन्चोक गाउँपालिकामा उल्लंघन भएको पाइएको छ । मापदण्डमा परीक्षा समितिले स्थानीय तह अन्तर्गतका विद्यालयका शिक्षकहरु मध्येबाट सम्बन्धित विषयविज्ञहरुको सूचि तयार पार्ने र उनीहरु मार्फत नै उत्तरकुञ्जिका सहितको प्रश्नपत्र तयार पार्ने उल्लेख छ । तर कालिन्चोक गाउँपालिकाले अन्य स्थानीय तहबाट प्रश्नपत्र झिकाएर परीक्षा सञ्चालन गरेको थियो । सो क्रममा विभिन्न विषयका प्रश्नपत्रमा त्रुटि समेत देखिएका थिए । परीक्षा सम्पन्न भएर कपि परीक्षण पश्चात समपरीक्षण समेत कालिन्चोक गाउँपालिकाले नगराएको विद्यालयहरुको आरोप छ । यसका साथै पुनर्योग र पुनःपरीक्षणको व्यवस्था पनि स्पष्ट रुपमा नगरिएको गुनासो आम विद्यार्थी र अभिभावकहरुको छ ।