दोलखा । नेकपा (माओवादी) केन्द्र दोलखाको वडा सम्मेलन सुरु भएको छ । शुक्रबारदेखि नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य गङ्गा कार्की विश्वको प्रमुख आतिथ्यतामा सम्मेलन सुरु भएको हो।
३ वर्षे कार्यकाल सकिनै लाग्दा गौरीशंकर गाउँपालिकाको वडा नं १ र २ बाट सम्मेलन सुरु गरिएको जनाइएको छ। दुवै वडाबाट पूर्ण वडा कमिटी गठन सम्पन्न गर्दै वडा नम्बर १ मा भरत खड्काको नेतृत्वमा नयाँ वडा कमिटी गठन भएको छ भने २ मा डवल वहादुर कार्कीको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी चयन गरिएको वडा नं २ का सचिव प्रकाश कौशलले जानकारी दिए । यसअघि वडा नं १ मा वडा कमिटीको जिम्मेवारी भरत खड्काले नै सम्हालेका थिए भने २ मा रोहित बुढाथोकीले सम्हालेका थिए। तर अहिले १ मा खड्काले नै कमिटीको कार्यभार सम्हाल्ने मौका पाए भने २ मा फेरिएको छ।
त्यस्तै सम्मेलनमा माओवादी केन्द्र पोलिटब्युरो सदस्य एवं पुर्व राज्यमन्त्री देवि खड्का, नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज एवं वागमती प्रदेश सरकारका पुर्व मन्त्री विशाल खड्का, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विस्वास कार्की लगायत नेकपा माओवादी केन्द्र दोलखाका नेताले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए।