बलराम थापा
उसको मृत्युमा
बगाइन मैले आँसु
लेखिन कुनै शोकगीत
जलाएर सपनाको रातो किताब
चढाइन कुनै महाराजको पाउमा
बरू, उसको मृत्युपछि
उसले छरेको उज्यालोमा
निहाल्दै उसका रक्तिम पाइलाहरू
पछ्याउँदै उसका पदचिन्हहरू
अबिचल हिँड्ने कोसिस गरिरहेँ
किनकि,
आगो ओकिलिरहेको त्यो समयमा
भिजाएर आँखाका परेलीहरू
आँसुका गीत गुनगुनाउँदा
उसको वलिदानको अपमान हुनेथियो ।
शहादतको दुई दशक नाघिसक्दा पनि उनको सम्झना उत्तिकै ताजा भएर आउँछ । समय बित्दै जाँदा स्मृतिहरू धुमिल हुँदै जानुपर्ने हो । तर उनको हकमा त्यसो भएको छैन । एकपछि अर्को गर्दै सम्झनाका तरङ्गहरू झन् ताजाताजा भएर स्मृतिपटमा घुमिरहन्छ । यी सम्झनाहरू कुनै औपचारिकता बाँधेर आउँदैन । हिमालबाट झरेको निर्मल झरनाजस्तै मानसपटलमा बगिरहने उनको सम्झना समाज परिवर्तनको सपनासँग एकाकार भएर छङ्छङी बगिरहन्छ । सामाजिक परिवर्तनको मुद्धा बलशाली हुँदा पनि उसँगको स्मृति ताजा हुने गर्छ, परिवर्तनको मुद्दा कमजोर हुँदा पनि उनको सम्झना तीव्र बनेर आउँछ । सम्झनाको यो क्रम टुटेपछि सधै मनमा प्रश्न उठने गर्छ – ‘किन केही मान्छेहरुको सम्झना ढकमक्क गुँरास फूलेझैं मनभरी फूलिरहन्छ ? मन अँध्यारोले निस्सासिएको बेला किन कसैको सम्झना उज्यालो छर्ने दियो बनेर जलिरहन्छ ?’ यसको चित्तबुझ्दो जवाफ आजसम्म आफ्नो मनले आफैंलाई दिनसकेको छैन ।
अबिराम चलिरहेको जीवनको यो यात्रामा थुप्रै साथीहरू भेटिए । कयौंसँग लामो सहकार्य भयो, कयौंसँग छोटो समयमै सम्बन्ध तोडिए । तीमध्ये कतिले आस्थाका प्रिय झण्डालाई आफ्नै आँखाअगाडि च्यातचुत पारेर रद्दीको टोकरीमा मिल्काए । कतिले यो झण्डालाई आर्थिक उपार्जनको मुख्य व्यवसाय बनाए । तिनीहरूका लागि आदर्श र बलिदान नाफा र घाटाको हिसाब राख्ने फगत एउटा खाता बन्ने गरेको छ । आस्थाका झण्डालाई तिनीहरुले कुनै दलाल व्यापारीले बिक्रिका लागि सोकेसमा सजाइएको एउटा बिकाऊ मालजस्तै बनाइरहेका छन् । जीवनको यो गौरवमय यात्रामा सँगसँगै अर्को थरी पनि थिए साथीहरू । उनीहरूका लागि त्यो रातो झण्डा फगत कपडाको टुक्रा थिएन । आस्थाका यो प्रिय झण्डा उनीहरूको सम्पूर्ण जीवन थियो । यही झण्डाभित्र उनीहरू मानव जातिका मुक्तिका सपना देख्थे । निष्ठाको यही झण्डा उनीहरुका लागि आफ्नो जीवनभन्दा प्यारो थियो र त्यही आर्दशका लागि उनीहरुले आफ्नो जीवन सर्मपण गरे ।
विश्वविख्यात वैज्ञानिक आर्किमिडिजले एकपटक भनेका थिए – ‘मलाई उभिनका लागि एउटा मात्र सुदृढ जमीन देऊ, म सारा धरतीलाइ हल्लाउने छु ।’ आस्थाका इमानदार सिपाहीहरूका लागि यही रातो झण्डा आर्किमिडिजले भनेको धर्ती थियो । त्यसले पैदा गर्ने आत्माविश्वास संसारका अरू कुनै चिजबाट पैदा हुँदैन थियो । त्यसैले त उनीहरू यही गौरवशाली झण्डालाई आफ्नो जीवनभन्दा प्रिय ठान्दथे र जीवन बलिदान दिएर क्रान्तिका बाटोमा कहिल्यै ननिभ्ने दियो बनेर बलिरहन्थे । तिनै दियो बनेर बलिरहेका एउटा योद्धा हुनुहुन्थ्यो – रीतबहादुर खड्का अर्थात् कमरेड ‘प्रताप’ । पार्टी पंक्तिमा प्रताप र साहित्य अनुरागीहरूका बीचमा चम्किलो ताराको नामले चम्किरहेका प्रतापको राजनीतिक यात्रा एउटा आँधीहुरिजस्तो थियो । तीसको दशकको अन्त्यतिर दोलखाको जुगुमा स्थानीय स्तरमा चलेको स्वतस्फूर्त वर्गसंघर्षले उनमा पैदा गरेको विद्रोही भावना तुफानजसरी अघि बढ्यो । पन्चायत विरोधी आन्दोलनमा यूवा– विद्यार्थीहरूको नेतृत्व गरेका प्रतापको राजनीतिक जीवन ०४५ सालको जेल जीवनबाट औपचारिक रुपमा सुरु भएको थियो । बाल्यकालमा पैदा भएको त्यो बिद्रोही भावना यूवावस्थामा आइपुग्दा क्रान्तिकारी चेतमा फेरिइसकेको थियो ।
त्यही क्रान्तिकारी चेतको आधारमा उनले आफू संगठित भएको तात्कालिन एमाले पार्टीबाट विद्रोह गरेका थिए । यद्यपि, कतिपयले यो विद्रोहलाई उक्त पार्टीभित्र भएको साँस्कृतिक विसंगतिका विरूद्द प्रतापले राखेको प्रस्ताव असफल भएपछि असन्तुष्टिस्वरूप गरेको बिद्रोहको रूपमा मात्र सिमित गर्न खोजिरहेका छ्न । तर यो विद्रोहको मुख्य कारण उनमा भैरहेको क्रान्ति चेतको विकास नै थियो । त्यो स्पष्ट बैचारिक ÷ सैद्धान्तिक विद्रोह नै थियो । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको पाँच दशक पुग्न लाग्दा पनि क्रान्तिको कुनै झिल्को नदेखिएको अवस्थामा सचेतापूर्वक उनले गरेको त्यो विद्रोह सैद्धान्तिक जगमा आधारित थियो । यसका कयौं तथ्यहरू समयक्रममा प्रकाशित हुँदै जानेछ्न । अहिले उनको स्मृति दिवसको सन्र्दभमा केवल उनको सम्झना र उनीबाट सिक्नुपर्ने विषयको बारेमा सामान्य चर्चा गरिनेछ ।
राजनीतिक क्षेत्रमा क्रियाशील पात्र कुशल नेतृत्वको रुपमा स्थापित हुनका लागि विशेष प्रतिभाहरुको आवश्यकता हुने गर्दछ । तर, सबैमा ती प्रतिभाहरु हुँदैनन् । कोही असाध्यै ईमानदार हुन्छन तर जोखिमहरूसँग खेल्ने कला हुँदैन । कोही कुशल संगठक हुनसक्छन् तर उनमा वैचारिक ÷ सैद्धान्तिक रूचि कम हुन सक्दछ । कोही असाध्यै गतिशील र जुझारु हुनसक्छ तर उसँग वस्तुवादी योजना बनाउने क्षमता नहुन सक्छ । कोहीसँग परिस्थितिको वस्तुपरक विश्लेषण गर्ने प्रतिभा हुनसक्छ तर उसँग व्यवस्थापन र संगठन परिचालनको ज्ञान नहुन सक्छ । यसकारण कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्वको अवधारणा स्थापित भएको थियो । यद्यपि, आजकाल सामूहिक नेतृत्वको विषय केवल आलाङ्कारिक शब्दको विषय मात्र बन्ने गरेको छ । कमै मान्छेहरुमा हुने यी विशिष्ट क्षमताहरूमध्ये कमरेड रीतबहादुर खड्कासँग धेरै क्षमताहरू थिए । यही विशिष्टताले उनलाई छोटो समयमै नेतृत्वमा स्थापित गरायो ।
असमानताको पहाडमा बसेर शान्तिपूर्ण बाटोबाट समानता ल्याउने नीति अँगालेको एमालेसँग सम्बन्धबिच्छेद गरेपछि प्रतापमा भएको आन्तरिक प्रतिभा तीव्र रूपमा प्रष्फुटन हुनपुग्यो । समुद्र तर्नु छ भने पौडी खेल्ने हिम्मत गर्नै पर्छ । किनारामा बसेर पारी हेर्दैमा पारी पुग्न सकिन्न । असमानताको मुख्य श्रोत वंश परम्परामा आधारित राजतन्त्रको अन्त्य गर्न जुलुस निकालेर संभव छैन भन्ने निष्कर्षमा पुगेपछि उनले एमालेसँग समबन्ध विच्छेद गरेका थिए । त्यसपछिको क्रान्तिकारी यात्रामा वैचारिक दृष्टिले उनी निरन्तर क्रान्तिकारी कित्तामा दृढतापूर्वक उभिइरहे । विश्लेषण सही भएर मात्र हुँदैन, ठीक समयमा उचित निर्णय लिनुसक्नु पर्दछ भन्ने कुरा यस प्रसंगबाट सिक्न सकिन्छ । नेतृत्व क्षमताको अर्को महत्वपूर्ण कडी भनेको बैचारिक कामसँगै संगठन निर्माण र परिचालनको कला अभिन्नरूपले जोडिएको हुन्छ । अर्थात्, नेतृत्व विकासमा वैचारिक र सांगठनिक कामलाई अघि बढ्ने दुइओटा पाइला पनि भन्न सकिन्छ । वैचारिक काम गर्दा सांगठनिक काम बिर्सने र सांगठनिक काम गर्दा वैचारिक काममा ध्यान नदिने नेतृत्व बिशुद्ध प्राविधिक बन्नपुग्दछ र आफूसँगै आन्दोलन पनि असफलतामा धकेलिदिन्छ । कमरेड प्रतापमा यी दुबै पक्षको सन्तुलन र तालमेल मिलाउने अदभूत क्षमता देखिन्छ । आजको पुस्ताले उनीबाट सिक्नुपर्ने अर्को महत्वपूर्ण पक्ष यो पनि हो ।
क्रान्तिकारी आन्दोलन त्याग, बलिदान र समर्पणबाट मात्र पनि अघि बढ्न सक्दैन । विचारधारात्मक स्पष्टता नै क्रान्ति अगाडि बढाउने मुख्य प्राण वायु हो । कमरेड प्रतापमा रहेकोे अर्को महत्वपूर्ण पक्ष विचारधारात्मक स्पष्टता नै थियो । माक्र्ससवाद गतिशील बिज्ञान भएकोले परिस्थितिअनुरूप यसका प्रयोगका तरिकाहरू फेरिन्छ भन्ने मान्यतालाई उनले दर्होसँग आत्मसात गरेको देखिन्छ । त्यसैले तात्कालिन माओवादी पार्टीभित्र अन्तरसंघर्षमा सक्रिय सहभागी प्रतापले वैचारिक संश्लेषण र त्यसको प्रमुख उपलब्धि प्रचण्डपथको निर्माणमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरे । पार्टीभित्र भएको तीव्र दुई लाइन संघर्षमा पदोन्नतिको अंकगणित हेरेर होइन, सही र क्रान्तिकारी धाराको निर्माण र विकासमा ईमानदारपूर्वक लाग्ने कुरा उनीबाट सिक्ने महत्वपूर्ण पाटो थियो । संगठन र आन्दोलनको कामसँगै प्रतापले लेखेको वैचारिक केन्द्रिकरणको महत्व र प्रचण्डपथले पैदा गरेको तरङ्गलगायतको चर्चित लेखहरूले त्यसबेला यूवापुस्तामा अभूतपूर्व वैचारिक तरङ्ग पैदा गरेको थियो ।
उनले आफूलाई कहिल्यै सर्वज्ञानी ठान्ने भूल गरेनन् । लेखहरू लेख्दा र नयाँ रचना गर्दा सहकर्मीहरूसँग छलफल गर्ने उनको विशेषता थियो । गाउँकि जेठी आमा शीर्षकको कविता र बासीभात नामको कथा लेखनको समयमा हामीले छलफल गरेका थियौँ । औपचारिक ढंगले फाल्गुन १ बाट जनयुद्ध सुरू भएपनि एक महिनाअगाडि नै दोलखामा जनयुद्धको तयारी भएको थियो । चरिकोटको सडकविभागबाट युद्धसामग्री कब्जा गर्नु एक प्रकारको जनयुद्धको सुरूवात नै थियो । इतिहासमा यसलाई यसरी स्थापित गर्न सकिएको छैन । यही प्रसंगमा ‘चम्किलो ताराको नाममा दोलखाको जिलेटिन माओवादीले कसरी हात पारे ?’ शीर्षकमा एउटा लेख प्रकाशित भएको छ । मैले धेरै कर गरेपछि प्रतापले हतारोमा तयार पारेको एउटा सामान्य खेस्रा पुनर्लेखन गरिएको थियो । जसको पहिलो अंश ‘पौरख मासिक’मा छापिएको थियो । यो अंश अहिले यूट्युब च्यानलमा सुन्न सकिन्छ । पौरख बन्द भएपछि यसको दोस्रो अंश छाप्न जनादेशमा लगिएको थियो । तीव्र दमनको बीचमा अफिस सारिरहँदा उक्त सामाग्रीको अंश हराएपछि प्रकाशित हुन सकेन । यसरी नयाँ रचना गर्दा छलफल गर्ने उनको विधिले एकातिर सिर्जना खारिन्थ्यो भने अर्कोतिर सामूहिक ज्ञानप्राप्तिको अभ्यास हुन्थ्यो । यो उनीबाट सिक्नुपर्ने अर्को महत्वपूर्ण पाटो थियो । समग्रमा बिचार र कर्मको सुन्दर संयोजन नै कमरेड प्रतापको जीवनको मुख्य विशेषता थियो ।
विगतका कामहरुको गम्भीर समीक्षापछि मात्र उनी अर्को योजना बनाउने गर्थे । असफलतादेखि अर्को असफलतामा घुमिरहने गोलचक्करले क्रान्तिकारी आन्दोलनलाई पुर्याइरहेको क्षतिबारे उनी सचेत थिए । एउटा क्रान्तिकारीले आत्मासंघर्षमार्फत निरन्तर आफैविरुद्ध संघर्ष गरिहनुपर्ने विषय हाम्रो वहसको केन्द्रमा हुने गर्दथ्यो । समाज विज्ञानको गहिरो अध्धयनपछि प्रत्येक व्यक्तिमा निर्माण भएको दृष्टिकोण जीवन व्यवहारमा प्रयोग हुन नसक्दा त्यो दृष्टिकोणको मृत्यु हुन्छ । समाज विकासबारे एउटा प्रष्ट दृष्टिकोण र सबैखाले विभेदबाट समग्र मानव मुक्तिको सामूहिक उद्धेश्यबिनाको जीवन मृत जीवन हो भन्ने उनको मान्यता थियो । राजनीतिक कर्ममा लागेकाहरुले अन्य विकृतिहरुबाट जोगाउन निरन्तर आत्मासंघर्षमार्फत आफैलाई शुद्धिकरणको प्रक्रियामा ढालिरहनु पर्दछ । आजको पुस्ताले कमरेड रीतबहादुर खड्काबाट सिक्नुपर्ने अर्को महत्वपूर्ण पक्ष यो पनि हो ।
आजकाल पढ्ने–लेख्ने काम अनुत्पादक कामजस्तो बन्न पुगेको छ । प्रविधिको विकासले ल्याएको बदलावले मात्र नभएर मान्छेको सोच्ने तरिका नै बदलिएको छ । त्यसबेला पठन सँस्कृतिले धेरै मान्छेहरुलाई जीवनको नयाँ घुम्तीहरुमा पु¥याउने गर्दथ्यो । हाम्रो पुस्ता रसियन र चिनियाँ साहित्यबाट बढी प्रभावित थियो । आमा, अग्निदीक्षा, युवाहरुको गीत, मान्छेको भाग्य र दोनका कथाहरु जस्ता उपन्यासहरु हाम्रा प्रिय पुस्तकहरु थिए । एउटा पुस्तक पढेपछि एकआपसमा हामी त्यसको सारांश सुनाउथ्यौँ । कमरेड रीतबहादुरले युद्धकालमा पनि यसलाई निरन्तरता दिने कोसिस गर्नुभयो । सामूहिक रुपमा गरिने यसप्रकारको छलफलले हामीलाई वैचारिक रुपमा अझ स्पष्ट बनाउने गथ्र्यो । अध्ययन सँस्कृतिले मान्छेको चेतनालाई उन्नत बनाउँछ । यही अध्धयनले उनलाई एकसाथ साहित्यकार, लेखक, राजनीतिज्ञ र सैन्य फर्मेसनमा कमिसार बनायो । आजको पुस्ताले उनीबाट सिक्ने सबैभन्दा महत्वपूर्ण पक्ष अध्ययन सँस्कृतिको विकास गर्नु पनि हो । उनीबाट सिक्ने विषयहरुको लामो सूची तयार गर्न सकिन्छ । यो सानो लेखमा त्यसको सम्भावना छैन ।
प्रतापको शहादतकको दुई दशकपछि पनि नेपाली राजनीति गुणात्मक ढंगले बदलिन सकेन । रूप र संरचनामा केही फेरबदल भएपनि प्रत्येक राजनीतिक परिवर्तनपछि हुने नयाँ सत्तासीन वर्गको उदय रोकिएन । सत्ताचरित्रसँग एकाकार भएका नयाँ दलालहरूमार्फत वर्गउत्थानको उल्टो अभियान चलिरहेको छ । दलाल चरित्र स्वीकार गर्न नचाहनेहरूलाई असक्षमताको प्रमाणपत्र दिएर पलायन हुन बाध्य पारिँदै छ । निष्ठा र आदर्शहरू खुल्लमखुल्ला लिलामीमा चढाइँदै छ । सहिद परिवार, घाइते योद्धा र बेपत्ताका परिवारजनहरूसँग केबल आलांकारिक सम्बन्ध मात्र बाँकी छ ।
वर्ग र वर्गीय शब्द पार्टीभित्र ठट्टाको बिषय बन्ने खतरा देखिँदै छ । एक ढंगले भन्ने हो भने कमरेड प्रतापलगायतको बलिदानले निर्माण भएको आदर्शको आन्दोलन लगभग विघटनको संघारमा पुगेको छ । ठीक यही बिन्दुबाट हामीले हाम्रो जिम्मेवारी पूरा गर्नुपर्ने छ । प्रतिकुलताभित्र अनुकुलता खोज्दै प्रतिक्रान्तिलाइ क्रान्तिमा फेरेर कुरूपतालाइ सुन्दरतामा बदल्ने कोसिस जीवनपर्यन्त गरिरहनु नै क्रान्तिकारीहरूको चरित्र हो । कमरेड प्रतापको जीवन र बलिदान यही आदर्श र आशावादीताको विश्वविद्यालय हो । यो नै प्रताप चरित्रको अमरत्व र हामीले सिक्ने अन्तिम कुरा हो । अन्तमा यही कविताको अंशसहित हार्दिक श्रद्धाञ्दली !
मृत्युपछि पनि ऊ
घुमिरह्न्छ यतै कतै
सडकको जुलुसहरूमा
कलेजको आक्रोशहरूमा
म देखिरहेछु उसलाई
हलो बोकेका किसानहरूसँग
बेल्चा बोकेका मजदुरहरूसँग
कृपया, उसलाई त्यही छोड
स्वीकार छैन उसलाई
सत्ता नामको कैदखाना ।