दोलखा । आइतबार शैलुङ गाउँपालिकाको गाउँसभामा एमालेका प्रतिनिधिले दुर्व्यवहार गरेको भन्दै नेकपा माओवादी गाउँपार्टी कमिटी शैलुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ती जारी गर्दै कमिटीले उक्त घटनालाई शैलुङ गाँउपालिकाको जनताको जीवनमा दूरगामी असर पर्ने गरी शैलुङ सरकारको योजनालाई विफल बनाउन नेकपा एमालेले लिएको पूर्व रणनितिका रुपमा लिएको जनाएको हो ।
घटनापछि आइतबार एमाले समूहले एक विज्ञप्ती जारी गर्दै आफ्ना प्रतिनिधिमाथि कांग्रेस र माओवादी समूहले हातपात भएको आरोप लगाएको थियो । तर उक्त आरोप निराधार भएको माओवादी केन्द्रबाट निर्वाचित वडा नं.-३ का अध्यक्ष वीरबहादुर तामाङले बताएका छन् । ‘हामीले गाउँपालिकाभित्र रहेका सबै वडाका सडकहरुको स्तरोन्नतीका लागि बजेट माग गरेका थियौँ, केहीबेरमा एमालेबाट निर्वाचित वडा नं. ५ का वडा सदस्य नवराज कार्की आएर बजेटलाई कार्यान्वयन गर्नुहँदैन भनेर माहोल तनावग्रस्त बनाएका हुन् ।’ उनले भने- ‘हामीले बजेट त पास गर्नुपर्यो नि भन्दा एमाले समूह निस्किएर हिँडे । हात हालाहाल भएको होइन, सामान्य भनाभन मात्रै भएको हो ।’
आइतबारको गाउँसभामा गाउँपालिकाको वडा नं. ५ स्थित लप्टनटोल सडक, रंगशाला हुँदै छहरे जाने सडक, र वडा नम्बर ३ मा रहेको गोचेत भुरुङ्गा सडकको स्तरोन्नतीका लागि बजेट माग गरिएको थियो । यी बाहेक सबै वडामा सडकका लागि बजेट माग गरिएकोमा एमालेले नियोजित रुपमै यसलाई रोक्न चाहेको माओवादी समूहको आरोप छ ।
माओवादीले गाउँपालिकाको विकासका लागि स्थानिय सरकार सञ्चालन ऐन अनुसार गाँउपालिकाको गतिविधिलाई अगाडी बढाउन समेत माग गरेको छ ।
गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले गाउँपालिका भित्र रहेको प्रत्येक वडाका एकएक वटा सडक स्तरोन्नती गर्ने लक्ष्य सहित बजेट विनियोजन गरेका थिए । तर एमालेले समूहले यसै विषयलाई बहुमतको दम्भ देखाएको माओवादी समूहको आरोप छ ।