राजकुमार भुजेल, दोलखा।दोलखामा एक दिने बृहत् लाखे प्रदर्शनी हुने भएको छ।लालिगुराँस युवा क्लव चरिकोटको आयोजना तथा भिमेश्वर नगरपालिकाको प्रवर्द्धकमा आउँदो भदौ ६ गते दोलखालगायत विभिन्न करिब ७ जिल्लाको लाखेनाच सदरमुकाम चरिकोटमा प्रदर्शन गर्ने गरी बृहत लाखे प्रदर्शनी हुने भएको हो।
शुक्रबार भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर लगायत स्थानीय जनप्रतिनिधि र संस्थाका पदाधिकारीले महोत्सवको ब्यानर सार्वजनिक गर्दै यसबारे जानकारी दिए । योसँगै महोत्सवको औपचारिक प्रचारप्रसार सुरु भएको क्लबका अध्यक्ष प्रविन श्रेष्ठले बताए । उनका अनुसार क्लबले जिल्लाको जिरी, मैनापोखरी, मागापौवा, किर्नेटार, सिंगटी, काठमाडौ लगायत विभिन्न ठाउँमा लाखे नाच प्रदर्शन गर्दै आएको छ ।
नगरप्रमुख मानन्धरले सदरमुकाम चरिकोटमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले विभिन्न जिल्लाका नेवार समुदायको कला-संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै संस्कृति जगेर्नामा योगदान पुग्ने बताए । प्रदर्शनीको नारा “हाम्रो संस्कृति हाम्रो पहिचान, पर्यटन प्रवर्द्धनमा हाम्रो अभियान” राखेको छ ।