दोलखा। हिमालय आशा केन्द्र ललितपुरद्वारा बिपन्न ४ सय २६ जना बालबालिकालाई झोला वितरण गरिएको छ । बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामग्रीहरू मध्ये झोलाको सुविधा पुर्याउने हेतुले समाजसेवी दिनेश केसिको सक्रियतामा विभिन्न जिल्लाका बिपन्न बालबालिकाहरुलाई झोला वितरण गरिएको हो ।
जस अन्तर्गत रामेछापको मन्थली नगरपालिका -९ पुरानागाउँ स्थित पुण्य आधारभुत विद्यालयका ६९ जना, खोटाङको बाराहा पोखरी गाउँपालिका -१ रुम्दु स्थित बाराहा मगरगाउँ आधारभुत विद्यालयका १ सय ११ जना, इलामको देउमाई नगरपालिका -६ शान्ति डाँडा स्थित पन्चकन्या माध्यमिक विद्यालयका १ सय १० जना र मकवानपुरको थाहा नगरपालिका- १, ५ र ६ का १ सय ३६ जना बिपन्न बालबालिकाहरुलाई स्कुल ब्याग बितरण गरिएको हिमालय आशा केन्द्र ललितपुरले जनाएको छ ।
वडा भित्र रहेका बिद्यालयमा साक्षरता अभियानलाई सहयोग पुग्ने उद्देश्यले विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हिमालय आशा केन्द्रका अध्यक्ष देबेन्द्र जोशीले बताए ।विद्यार्थीहरूलाई दिइएको झोलाले शिक्षाप्रति थप ऊर्जा बढ्ने र निजी विद्यालयको जस्तै अनुभव गराउने भन्दै हिमालय आशा केन्द्र विभिन्न जिल्लाका बिकट ठाउँहरुमा घण्टौसम्म पैदल यात्रा गर्दै भएपनि आफुहरुले झोला वितरण गरेको सस्थाका कोषाध्यक्ष गम्भीर बहादुर थापाले बताए ।
झोला पाएपछि विद्यार्थीहरूले पनि खुशी व्यक्त गर्दै निरन्तर विद्यालय आउने बताएका छन् । झोला वितरणका लागि सबै विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक लगाएत विद्यार्थीहरुले संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।