राजकुमार भुजेल,दोलखा।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण अभियान शुभारम्भ गरेको छ ।बिहिबार सदरमुकाम चरिकोटमा जिल्ला प्रहरी कार्यालय दोलखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको संयुक्त आयोजनामा कार्यक्रमको उद्घाटन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल ज्यूको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको थियो। उनले सो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने र सबै यात्रुहरूको यात्रा सुरक्षित हुने आशा र अपेक्षा राखेको बताए । चाडपर्व नजिक आइरहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए।
जिल्ला प्रहरी कार्यालय दोलखाका निरीक्षक शत्रुधन महतोले दोलखा सहित बागमती प्रदेशका सबै जिल्लाहरुमा उक्त कार्यक्रम संचालन गरेको बताए। उनले सडक सुरक्षा र यात्रु सुरक्षाको विषय ३६५ दिन कै विषय भएकाले चाडपर्वका अवसरमा सडक सुरक्षा र यात्रु सुरक्षाको विषय झनै संवेदनशिल रहेको बताए।चाडपर्व लाई लक्षित गरेर दुर्घटना न्युनिकरण अभियान चलाएकाले सरोकारवाला पक्ष सबैलाई यस अभियानमा सहयोग गर्न आग्रह गरे। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले सवारी साधन चालक, सह–चालक, सर्वसाधारण तथा यात्रुहरूलाई ट्राफिक सचेतना अभिवृद्धि गर्नको लागी चालकहरु सँग ५ बुदे प्रतिवद्धता पत्र सहित १ महिने अभियान सुरु गरेको बताए । दसैँतिहार तथा छठ पर्वको उपलक्ष्यमा सवारी साधनहरूको चाप तथा यात्रुहरूको ओहोर दोहोर बढ्न जाने हुँदा सवारी दुर्घटना न्यूनीकरणका लागि उक्त अभियान खाँचो भएको जिकिर गरे। उनले एक महिना भर सडकमै पुगेर चालक सँग छलफल गरेर प्रतिवद्धता पत्रमा हस्ताक्षर गराउने समेत बताए।
त्यस्तै कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशङ्कर चौलागाइँ,जिल्ला प्रहरी कार्यालयका प्र नि दाताराम अधिकारी,यातायात व्यावसायी , व्यावसायी संघका प्रतिनिधि , सवारीचालक, स्थानिय लगाएतको उपस्थिती रहेको थियो।