अबिरल बस्नेत `सुरज´
दोलखा । शनिबार दोलखाको शैलुङ गाउँपालिका-१ र सिन्धुपाल्चोकको लिसंखुपाखर-१ जोड्ने ‘डासेँ खोला पुल’को उद्घाटन कार्यक्रम थियो ।
वर्षौंपछि खोलामा पक्की पुल बनेकोमा खुसीयाली साट्न सारा गाउँले डासेँ खोला छेउमा जम्मा भएका थिए । भर्खरै स्कूल पढ्दै गरेका केटाकेटीदेखि डाँडापारीको घाम जून जस्तै बनेका बुढाबुढीसम्म सकिनसकी कार्यक्रम स्थल आइपुगेका थिए ।
विहानको करिब ११ बजेतिर सबै जम्मा भएपछि कार्यक्रम सुरु भयो । पुलको उद्घाटन हुँदै गर्दा अधिकांश गाउँलेका आँखा ओभाना थिएनन् । रसाएका आँखाहरुमा बेदनासँगै खुसी छचल्किएका देखिन्थे ।
खोलामाथि बनेको पक्की पुल हेरेर दंग परेका गाउँलले पुल उद्घाटनका लागि पुगेका बागमती प्रदेशका पुर्वमन्त्री विशाल खड्कालाई धन्यवाद मात्रै होइन अंगालो हालेरै आशिर्वाद समेत दिए । त्यसो त वर्षौँदेखि बन्न नसकेको पुल मन्त्री खड्काकै पहलमा बन्न सफल भएको थियो । खड्का मन्त्री भएका बेलामात्रै होइन, त्यसअघि पनि उनले डासेँमा पुल बनाउन पटकपटक बजेटका लागि पहल गरेका थिए । यो कुरा पहिले गाउँलेसामू सुनाउँदा उनीहरुले पत्याएका थिएनन् । किनकी यस्ता आश्वासन उनीहरुलाई थुप्रै नेताहरुले दिइसकेका थिए । तर जब मन्त्री खड्काकै पहलमा पुल जोडियो तब गाउँलेले उनलाई भगवानकै स्वरुपमा देखेका छन् ।
सायद प्रत्येक गाउँलेको अन्तिम इच्छा नै डासेँमाथि पुल पक्की पुल बनेको हेर्नु थियो । र, गाउँलेको त्यो सपना शनिबार पुरा भएको छ । त्यसैले पनि पुर्वमन्त्री खड्काकै हातबाट पुलको उद्घाटन कुरेर बसेका थिए, गाउँलेहरु ।
औपचारिक कार्यक्रमकैबीच खुसीयाली बनिरहेको माहोलभित्र खोलाले दिएको पीडा र गुम्सिएका अतितहरु एकैसाथ पोखिएका थिए ।
२०३८ सालको साउने संक्रान्तिमा खोलापारी धसिङगरे लिन भनेर पारी गाउँ जान खोज्दा ११ वर्षकी हेमकुमारी तामाङलाई यही खोलाले निलेको थियो । काठको फड्केमाथिबाट उर्लिएर बगेको खहरेले उनको प्राण लियो । हेर्दाहेर्दै खोलाको भेलसँगै विलाइन् हेमकुमारी । घटनाको ४३ वर्ष वित्यो । अहिलेपनि छोरीको सम्झनाले राम्ररी निदाउन सकेका छैनन्, बुबा इन्द्रबहादुर तामाङ ।
‘मेरी छोरी गुमाएपनि खोलामा पुल भैदिए, मेराजस्ता अन्य छोरीहरुले ज्यान गुमाउनुपर्ने त थिएन नि भन्ने सोच्थेँ ।’ आँखाभरी आँसु पार्दै इन्द्रबहादुरले भने, ‘आज पुल देख्न पाएकोमा सुखको सास फेरेको छु । अब हाम्रा छोराछोरीले यसरी बग्नुपर्ने छैन ।’
त्यसो त हेमकुमारी मात्रै होइन, गाउँका अन्य ३ छोरीहरुले पनि यही खोला तर्दा मृत्युवरण गर्नुपरेको थियो ।
हुनपनि यो खोलामा पुल नहुँदा गाउँलेहरुले कति सास्ती खेपे बयान गरिसाध्य छैन । खोलापारी सम्म गाडी आउँथ्यो, त्यो गाडी चढ्न जान यही खोला नतरीकन सम्भवन थिएन । त्यसमाथि घण्टौँ हिँडेर यहाँसम्म आइपुग्नुपर्थ्यो । ज्यानको बाजी राखेर खोलामा होमिनु पर्थ्यो । वर्खामा त खोला वारपार गर्न सम्भव नै थिएन ।
‘काठको फड्के राखेर गर्थ्यौ,
शैलुङ-१ कल्लाबारीका स्थानीय चन्द्रलाल घिसिङले दुखेसो पोखे-‘कतिपटक खोलामा खसेर पनि बाँचियो ।’
खोलामा हालेका काठमा फड्के कयौँपटक खहरेसँगै बगे । गाउँलेका सास्ती र दुख नै पुल नहुनु थियो । अन्ततः विशाल खड्का, जसको पहलमा पुल बनेपछि गाउँलेका दुखका दिन हराएका छन् । आफ्नो जीन्दगी जोखिम मोलेरै वितेपनि आफ्ना सन्तान अब सुखले वारपार गर्न पाउनेभएपछि सुखको सास फेर्न पाएका छन्, गाउँलले ।