अबिरल बस्नेत ` सुरज ´
दोलखा । गौरीशंकर गाउँपालिकामा बाल विकास केन्द्र स्थापना गरिएको छ । वडा नम्बर-५ सुरी स्थित डाँडाटोलमा श्री हन्डङ ढुङ्गा बाल विकास केन्द्रको स्थापना गरिएको हो ।
मंगलबार केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बाल विकास केन्द्रको स्थापनाले लामो बाटो हिँडेर विद्यालय आउजाउ गर्नुपर्ने बालबालिकाका लागि सहजता प्रदान गर्ने बताए । उनले बालबालिकालाई स्कुल आउजाउ गर्दा हुने दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर यो पहल गरिएको जानकारी दिए।
बाल विकास केन्द्रको स्थापनासँगै अब डाँडाटोलका स्थानीय बालबालिकाले घण्टौँ हिँडेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
कार्यक्रममा स्थानीय, जनप्रतिनिधि र बुद्धिजीविहरूको उपस्तिथि रहेको थियो। यस केन्द्रको भवन निर्माणका लागि पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विशाल खड्काको योगदानप्रति स्थानीयले धन्यवाद ब्यक्त गरेका छन् ।